पाल्पा । माथागढी गाउँपालिका वडा नं. ३ कसेनीमा बेमौसमी तरकारी उत्पादन तालिम (तह–१) सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी) अन्तर्गत मदनपोखरा बहुप्राविधिक शिक्षालय दमकडाको आयोजनामा कसेनीमा निशुल्क बेमौसमी तरकारी उत्पादन तालिम (तह–१) सुरु भएको हो ।
६५ दिन सम्म चल्ने तालिममा २० जना कृषक सहभागी भएको शिक्षालयका प्रशासकीय सहायक छवि भट्टराईले जानकारी दिनुभयो । कृषकहरुलाई व्यवसायीक बनाउने र बेमौसमी तरकारी उत्पादन गरि आयस्तर बढाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको भट्टराईले बताउनुभयो । मदनपोखरा बहुप्राविधिक शिक्षालय, दमकडाले ३ लाख २० हजार रुपैंया बजेटबाट तालिम सञ्चालन गर्ने भट्टराईले बताउनुभयो ।
तालिमको उद्घाटन गर्दै मदनपोखरा बहुप्राविधिक शिक्षालयका प्रमुख प्रदीप राज पाण्डेले तालिमले तरकारी खेती गर्नेहरुलाई व्यवसायीक बन्न र बेमौसमी तरकारी बिक्रि गरि आम्दानीमा वृद्धि हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले पारिवारिक गरिबी न्यूनीकरण हुनु भनेको राज्यको गरिबी न्यूनीकरण हुनु भएको भन्दै नेपाल कृषि प्रधान देश भएकाले कृषि पेशाले गरिवि न्युनिकरण गर्न सहयोग पुग्ने बताउनुभयो ।
माथागढी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष तेज बहादुर घर्तीमगरले तालिम लिएर मात्रै केहि नहुने बताउदै सिकेको कुरालाई व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । उहाँले तालिम लिईसकेपछि निरन्तरता दिने बानी नभएकोले राज्यको लगानी खेर गइरहेको समेत उल्लेख गर्नु भयो । वडाध्यक्ष घर्तीमगरले किसानहरुले कृषि क्षेत्रमा आफ्नो पुर्ण समय दिए प्रतिफल राम्रो आउने बताउनुभयो । किसानहरुलाई उद्यमशिल बनाउनका लागि बेमौसमी तरकारी खेती संगै आगामि दिनमा आवश्यकता अनुसारका अन्य कार्यक्रमहरु समेत ल्याउने बडाध्यक्ष घर्तीमगरले बताउनुभयो ।
तालिमको प्रशिक्षक अबिना घिमिरे र सामुदायिक सिकाइ केन्द्रका सहजकर्ता रेखा काफ्लेले सहजीकरण गर्ने शिक्षालयले जनाएको छ ।

