माथागढीका शिक्षकलाई लेखापालन तथा सार्वजनिक खरिद तालिम

पाल्पा । माथागढी गाउँपालिकाका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा लेखापालहरुका लागि लेखापालन तथा सार्वजनिक खरिद तालिम सञ्चालन गरिएको छ ।

दुई दिने तालिमको उद्घाटन गर्दै माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले योजना बनाउने, खरिद नियमावलीको पालना गर्ने, जिन्सी व्यवस्थापन गर्ने र लेखा व्यवस्थापनले विद्यालयलाई गतिशिल बनाउने बताउनुभयो । उहाँले व्यवस्थित लेखा प्रणाली नहुँदा राम्रो काम गर्दा गर्दै पनि विद्यालयको आर्थिक पारदर्शिता माथि प्रश्न उठ्ने गरेको उदाहरण प्रशस्तै भेटिने गरेको बताउनुभयो । तालिम पश्चात माथागढी गाउँपालिकामा व्यवस्थित लेखापालनको प्रभावकारिता बढ्ने विश्वास गरेको चिदीले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख प्रेम राज खरेलले सार्वजनिक खरिद ऐन तथा नियमावली पालना गर्दागर्दै विधि नपुग्दा अप्ठेरो पर्न सक्ने र पारदर्शिता नदेखिन सक्ने बताउनुभयो । उहाँले माथागढी गाउँपालिकाले समन्वय गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय सुन्दर प्रसाद श्रेष्ठले विद्यालय लेखापालन र सार्वजनिक खरिद नियमसंगत नहुँदा बेरुजु बढ्ने समस्या आउने हुँदा लेखापालहरुलाई चुस्त दुरुस्त राख्न तालिमले सघाउने बताउनुभयो । उहाँले धेरैजसो विद्यालयहरुको श्रेष्ता व्यवस्थितच नभएको गुनासो अडिटका बेला बढ्ने गरेको भन्दै विद्यालयको आर्थिक शुसासन कायम राख्न तालिम प्रभावकारी हुने बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका शाखा अधिकृत वसन्तराज भट्टले स्थानीय तहको शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले विद्यालयको लेखांकन प्रणालीलाई प्रविधीमैत्री बनाउने र विद्यालयको आर्थिक शुशासन कायम गर्दै जवाफदेहिता कायम गर्ने तालिमको उद्देश्य रहेको बताउनुभयो ।

तालिम उद्घाटन समारोह शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्राविधिक सहायक विष्णु प्रसाद कंडेलको संचालनमा चलेको थियो । पौष २० र २१ गते सञ्चालन हुने तालिमको दमकडा माध्यमिक विद्यालयका लेखा शिक्षक ईश्वरी तिवारीले सहजिकरण गर्नुहुने छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय