पाल्पा । तथ्याङ्क दिवस २०८२ का अवसरमा तथ्याङ्क संकलनमा सघाउने कृषक, व्यवसायी र कार्यालयहरु सम्मानित भएका छन् । तथ्याङ्क समन्वय कार्यालय, पाल्पाले तथ्याङ्क संकलन गर्न सघाउने किसान, व्यवसायी, कार्यालयहरुलाई सम्मान गरेको हो ।
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले तथ्याङ्कको क्षेत्रमा समन्वय नहुँदा राज्यले धेरै कुरा गुमाउनुपरेको बताउनुभयो । उहाँले कार्यालयहरुलाई मात्र नभएर उद्योगी, व्यवसायी र व्यक्तिगत प्रयोगका लागि समेत तथ्याङ्क आवश्यक पर्ने बताउनुभयो ।
अन्तरक्रियामा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले योजना तथा विकासका लागि आवश्यक पर्ने तथ्याङ्क संकलन र व्यवस्थापन गर्ने काम कार्यालयले व्यवस्थित रुपले गर्नुपर्ने बताउनुभयो । उहाँले पाल्पामा भएका सबै मिडियाहरुले तथ्याङ्क समन्वय कार्यालय, पाल्पासंग समन्वय गरेर काम गर्ने र पत्रकारिता क्षेत्रमा महत्वपुर्ण हुने तथ्याङ्कको प्रयोग र सदुपयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै तथ्याङ्क समन्वय कार्यालय पाल्पाका तथ्याङ्क अधिकृत अवधेश कुमार शुक्लाले २०७९ भाद्र २८ मा नयाँ तथ्याङ्क ऐन जारी गरिएको र नेपालको संविधानमा तीनै तहका सरकारलाई तथ्याङ्किय अधिकार प्रदान गरेको बताउनुभयो । उहाँले भूगोल, जनसंख्या, सामाजिक तथा सांस्कृतिक अवस्थाको तथ्यांक संकलनका आधारमा निर्वाचन क्षेत्र बनाईएको र तथ्याङ्क ऐन २०७९ अनुसार तथ्याङ्क संकलक, उत्पादक तथा तथ्याङ्क प्रयोगकर्ताको दायित्व, विद्युतिय अभिलेख, तथ्याङ्कको प्रयोग तथा पहुँच लगाएतका विषयमा तथ्यांक संकलन हुने गरेको बताउनुभयो ।
तथ्याङ्क समन्वय कार्यालय पाल्पाका प्रमुख केशव ज्ञवालीले राष्ट्रिय तथ्याङ्क कार्यालयले निर्माण सामग्रीहरुको त्रैमासिक रुपमा मुल्य सुचि निकाल्ने गरेको बताउनुभयो । तथ्याङ्क ऐन अनुसार व्यक्तिगत तथ्याङ्क सार्वजनिक गर्न नहुने उहाँले बताउनुभयो । कार्यालयले तथ्याङ्कको स्तर निर्धारण तथा प्रमाणिकरण सम्बन्धी कार्य गर्ने, विभिन्न विषयको गणना र नमुना सर्वेक्षण लगाएतका काम गर्ने गरिबीको तथ्याङ्क निकाल्ने लगाएतका काम गर्ने कार्यालयले जनाएको छ । मानव विकास सुचकांक निकाल्न समेत राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्क प्रयोग हुने ज्ञवालीले बताउनुभयो ।
तथ्याङ्कको अधिकतम प्रयोग गर्न र तथ्याङ्कको सहि सदुपयोग गर्न तथा कार्यालयलाई नियमित रुपमा तथ्याङ्क संकलनमा सहयोग पुर्याउन कार्यालयले अनुरोध गरेको छ । कार्यक्रमका अवसरमा कार्यालयका लेखापाल राधाकृष्ण नेपाललाई दिर्घसेवा सम्मान समेत गरिएको छ ।

