रत्न माविलाई ६ वटा कम्प्यूटर सहित विभिन्न सामग्री सहयोग

पाल्पा । लायन्स क्लब अफ बुटवल स्टार्सले रत्न मावि देवगिरलाई ६ वटा कम्प्यूटर सहित विभिन्न सामग्री सहयोग गरेको छ । विद्यालयलाई क्लबले कम्प्यूटर कक्ष निर्माणका लागि ६ वटा कम्प्युटर, फर्निचर, स्टेशनरी तथा खेलकुद सामग्री सहयोग गरेको हो ।

क्लबका अध्यक्ष राजन जिसीले विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सामग्री हस्तान्तरण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले निर्माण गरिएको कम्प्यूटर ल्याबको उद्घाटन गर्नुभयो ।

अध्यक्ष चिदीले उद्घाटन गर्दै माथागढी गाउँपालिका भित्रको शैक्षिक पक्षमा विद्यालयले गरेको योगदानको प्रशंसा गर्दै विद्यालयको गुणस्तर वृद्धिका लागि क्लबले गरेको सहयोगले अझ एउटा ईट्टा थपिएको बताउनुभयो । अध्यक्ष चिदीले अन्य सामाजिक संघसंस्थाहरुले पनि क्लबले जस्तै सामाजिक उत्तरदायित्व बहन गर्न सके शिक्षा क्षेत्रमा सुधार हुन धेरै समय नलाग्ने बताउनुभयो ।

क्लबका अध्यक्ष राजन जिसीले विद्यार्थीहरुको डिजिटल शिक्षा र प्रविधिमैत्री सिकाई तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने पवित्र उद्देश्यका साथ कम्प्यूटर ल्याब स्थापना गरिएको बताउनुभयो । आफुले अक्षर चिन्न सुरु गरेको र जन्मेको ठाँउको शैक्षिक धरोहर रत्न माविमा कम्प्युटर कक्ष स्थापना र व्यवस्थापन पश्चात विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आईटी तथा कम्प्युटर सम्बन्धी थप ज्ञान र सीप हासिल गर्नेमा पूर्ण विश्वास रहेको बताउनुभयो ।

विद्यालयको शैक्षिक तथा भौतिक पक्षको थप प्रगतिको लागि आगामी दिनमा समेत सहयोग जारी रहने क्लबले जनाएको छ । विद्यालयले कम्प्युटर ल्याबको व्यवस्थापनका लागि प्रस्ताव गर्दा सहर्ष स्विकार गरि हातेमालो गर्ने क्लबलाई विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ । क्लबको सामाजिक र रचनात्मक कार्यका लागि अभिभावकहरुले समेत खुलेर प्रशंसा गरेका छन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय