पाल्पा । रैनादेवी छहरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले समाचार चित्त नबुझेपछी पत्रकारलाई रबैया देखाएका छन् । माडीभ्यून्यूज डट कममा “रैनादेवी छहराले कार्यविधि मिचेर सार्वजनिक सुनुवाइ गर्दै” भन्ने समाचार प्रकाशित भएपछी परियारले सामाजिक सञ्जाल फेसबुकमा “केटाकेटीको हातमा कलम” भन्दै रबैया देखाएका हुन् ।
उनले समाचार लेख्दा सबै कुरा बुझेर लेख्न भन्दै आफ्नो बचावट गरे । आफु कानुनको ज्ञाता भएको भाषा प्रयोग गर्दै उनले संघीय नमुना कानुन स्विकृत गर्नैपर्ने बाध्यता नभएको बताए । “केटाकेटीको हातमा कलम” भनेको के हो भनेर गरेको प्रश्नमा उनले “तपाईंले जस्तो समाचार लेख्नुभयो, त्यस्तै हो” भनेर ठाडो जवाफ दिए । पत्रकारलाई केटाकेटी देख्ने उनको हाकिमी शैली भने परिपक्क देखिएन ।
सुशासन र जवाफदेहिताको धज्जी उडाउँदै उनले समाचारलाई केटाकेटी खेल ठानेको देखिन्छ । सानो प्रश्न उठ्ने वित्तिकै कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका परियार व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिए । उनले सार्वजनिक सुनुवाइ सहजिकरण गर्ने संस्थासंग तपाईंको के रिसिबी छ ? भन्दै आफ्नो जवाफदेहिता पन्छाउने प्रयास गरे ।
नागरिकले प्रश्न गर्ने सार्वजनिक सुनुवाइमा नागरिक नै उपस्थित हुँदैनन् कि ? भन्ने प्रश्नमा उनले एक हप्ताको समय राखेपनि मान्छे आएनन् भने के गर्ने भन्दै रुखो जवाफ फर्काए । आफुलाई कानुन र ऐनको ज्ञाता सम्झने परियारलाई नागरिकले पाउने सेवा, सहजता, पारदर्शिता र जवाफदेहिताको कुनै मतलब छैन ।
नागरिक चासोको विषयमा समाचार लेख्ने पत्रकारलाई केटाकेटीको संज्ञा दिने कर्मचारी संग नागरिकले सुशासनको के अपेक्षा गर्ने भन्ने प्रश्न उठेको छ । आफ्नो पदीय मर्यादा भुलेर उनले सामाजिक सञ्जालमा नै पत्रकारलाई “भाई” जस्ता शब्द प्रयोग गरेका छन् ।
प्रश्न गर्ने नागरिकहरु नआउन् भनेर गाउँपालिकाको सार्वजनिक सुनुवाइ भुवनपोखरीमा गर्न लागेको स्थानीयबासीले आरोप लगाएका छन् ।

