पाल्पा । माथागढीका विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र प्रधानाध्यापक सञ्जालको घुम्ती बैठक सम्पन्न भएको छ । रत्न माध्यमिक विद्यालय देवगीरको आयोजना, माथागढी गाउँपालिकाको समन्वय तथा एक्सन एड र एसआरडिसिएनको सहकार्यमा सञ्जालको घुम्ती बैठक सम्पन्न भएको हो ।
बैठकमा ९ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकहरुले आआफ्नो विद्यालयको शैक्षिक, भौतिक र गुणस्तर सम्बन्धी अवस्थाको जानकारी दिएका थिए ।

बैठकमा माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले सबै विद्यालयहरुले अनुभव साटासाट गर्दै सुधार गर्नुपर्ने विषयमा छलफल गरी सुधार गर्ने विषयमा सञ्जालको घुम्ती बैठक प्रभावकारी हुने बताउनुभयो । चिदीले माथागढी गाउँपालिकाले शिक्षा क्षेत्रमा आर्थिक, भौतिक रुपमा निकै ठुलो लगानी गरेको भन्दै त्यसलाई प्रभावकारी बनाउन शिक्षक, अभिभावक र विद्यार्थी सबैको महत्वपुर्ण भूमिका हुने बताउनुभयो ।
बैठकमा एसआरडिसिएन पाल्पाका कार्यक्रम अधिकृत पिताम्बर बस्यालले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सञ्जालको घुम्ती बैठकले रचनात्मक रुपमा काम गरेको बताउनुभयो । बस्यालले विद्यालय सफल बन्न व्यवस्थापन समिति र प्रधानाध्यापकको कुशल नेतृत्वले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।

बैठकमा माथागढी गाउँपालिकाका प्रवक्ता तथा ४ नं वडाका वडाध्यक्ष शंकर दर्लामीले सञ्जालको घुम्ती बैठकले विद्यालयको भौतिक र शैक्षिक अवस्थाको अवलोकन, विश्लेषण, समीक्षा र निर्णय गरेर अघि बढ्न सघाउ पुग्ने बताउनुभयो ।
दर्लामीले घुम्ती बैठक बस्ने विद्यालयको राम्रा पक्षको विवेचना गर्ने, सौचालय, पुस्तकालय, कार्यालय, कक्षाकोठा, विद्यार्थी र शिक्षकको अवस्था अवलोकन गर्ने, राम्रा कुरा सिक्ने र सुधार्नुपर्ने विषय सुझाव दिने अभ्यास सकारात्मक भएको बताउनुभयो ।

