माथागढी सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधी सौभाग्यलाई

पाल्पा – माथागढी गाउँपालिकास्थित सराई खेल मैदानमा सञ्चालित सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सौभाग्य मावि चिदीपानीले जितेको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ८ वटा स्वर्ण पदकसहित २० पदक जितेर सौभाग्य माविले यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता बनेको हो ।

सौभाग्य माविले ८ स्वर्ण, ५ रजत र ७ वटा कास्यपदक जितेको माथागढी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रकाश पाठकले जानकारी दिनुभयो । यस्तै माउण्ट भ्याली ईंग्लिस स्कुलले ५ स्वर्ण, ४ रजत र ४ कास्य पदकसहित दोस्रो बनेको छ । यस्तै ४ स्वर्ण, ८ रजत र ५ कास्यसहित किसान मावि झडेवा तेस्रो बनेको छ ।

यस्तै दिव्यज्योती माविले १४, सिद्धार्थ माविले ९, ग्रामोदय र रत्न माविले ५/५ पदक जितेका छन् । धारादेवी माविले ४, कर्णधार माविले ३, सातपोखरी माविले २ र सनराईज पब्लिक स्कुलले १ पदक, ज्ञानोदय आविले १ जितेका छन् । प्रतियोगितामा सामुदायिक र संस्थागत गरी १६ वटा विद्यालयको सहभागिता रहेको थियो । रनिङ शिल्ड प्रतियोगितामा ज्याभलिन थ्रो, कबड्डी, रिले दौड, एकल दौड, भलिबल, हाइजम्प, लङ्ग जम्प, सटफुटलगायतका खेलमा प्रतिष्पर्धा भएको थियो ।

विजेता खेलाडीलाई पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले खेलकुद प्रतियोगिताले विद्यार्थी–विद्यार्थीका बीचमा सकारात्मक प्रतिष्पर्धा गर्ने भावनाको विकास गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले प्रतियोगिताले विद्यालय र विद्यार्थीका बीचमा असल अन्तरसम्बन्ध कायम गर्न भूमिका खेलेको बताउनुभयो । खेलकुदका माध्यम्बाट देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अध्यक्ष चिदीको भनाई छ ।


यूवा विद्यार्थीलाई शारिरीक र मानसिक रुपमा स्वस्थ बनाउने अभियानमा माथागढी गाउँपालिका अघि बढेको उल्लेख गर्दै उहाँले खेलका माध्यम्बाट निरोगी रहन सहयोग पुगेको बताउनुभयो । अध्यक्ष चिदीले भन्नुभयो, “संसार खेलकुदकै माध्यम्बाट चिनिएको छ, हामीले पनि हाम्रो देश, समाज, परिवार र विद्यालयलाई चिनाउन सकेका छौँ । असल संस्कार, सकारात्मक सोच र असल कर्मले मात्रै सफलता हासिल गर्न सकिन्छ ।”

माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले प्रतियोगिता मर्यादित, अनुशासित र नियम पुर्वक सम्पन्न भएको बताउनुभयो । उहाँले खेलाडीहरुको उचित व्यवस्थापन गर्न स्थानीय समुदाय र समाजसेवीहरुले राम्रो भूमिका निर्वाह गरेका कारण प्रतियोगिता भव्य रुपले सम्पन्न भएको बताउनुभयो ।

माथागढी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष तेज बहादुर घर्तीले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले स्थानीय स्तरमा खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो । देशको अवस्था अनुसार राज्यको लगानी खेल क्षेत्रमा सन्तोषजनक मान्नुपर्ने भन्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर खेल क्षेत्रको विकास गर्न सकिने धारणा राख्नुभयो । उहाँले खेल क्षेत्रबाट पर्यटन प्रबद्र्धन गर्न सकिने धारणा राख्नुभयो । उहाँले माथागढीको सराई क्षेत्रलाई जिल्लाकै नमूना खेलमैदानका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय