पाल्पा । केयर काम र अर्थतन्त्र विषयक कार्यशाला तानसेनमा सम्पन्न भएको छ । साझेदार संस्थाहरु मानव अधिकार चलचित्र केन्द्र, उन्नती, सिएफएलआई÷एफसिआईएल र सञ्चार मञ्च पाल्पाको आयोजनामा कार्यशाला सम्पन्न भएको हो ।
कार्यशालामा मानव अधिकार चलचित्र केन्द्रका विकास परामर्शदाता सुर्यप्रसाद न्यौपानेले सहजिकरण गर्दै महिलाहरुको पुर्नउत्पादक भूमिका महत्पवुर्ण हुने बताउनुभयो । उहाँले महिलाहरुले घरमा गर्ने कामको आर्थिक मुल्यांकन नहुने भन्दै समतामुलक समाज निर्माणमा महिला र पुरुष दुवैको भूमिकाको आर्थिक मुल्यांकन हुनुपर्ने बताउनुभयो । नेपालमा ८५ प्रतिशत महिलाहरुले बेतलबी रुपमा घरायसी काम गर्ने भन्दै त्यसको मुल्यांकन नभएको उहाँले बताउनुभयो ।
नेपालमा आर्थिक रुपले सक्रिय नरहेका ३९.७ प्रतिशत महिलाहरुले केयर सम्बन्धी घरायसी कामका कारणले श्रम बजारमा सहभागी हुन नसकेको तथ्यांक छ । विपदको बेलामा महिलाहरुको स्याहार सुसार, घरायसी तथा सामाजिक लगाएतका केयर सम्बन्धी कामको भार बढ्ने गरेको छ । विश्वमा सन २०३० सम्ममा करिब २.३ अर्ब मानिसहरुलाई हेरचाहको आवश्यकता पर्ने अनुमान गरिएको छ । नेपालमा अवैतनिक सेवामुलक र घरेलु कामले जीडिपीको ६ देखि १७ प्रतिशत योगदान पुर्याउने गरेको तथ्यांक छ ।

महिलाहरु घरभित्रका सेवामुलक काम र घरबाहिरका सामाजिक, आर्थिक तथा राजनैतिक लगाएतका दोहोरो जिम्मेवारीमा रहेका छन् । कार्यशालाका सहभागीहरुले पहिलेको अवस्थामा अहिले समाजमा परिवर्तन भएको, अपांगता भएका व्यक्तिहरुको सहभागिता, विपद व्यवस्थापन, महिलाहरुलाई पुरुषहरुले सुघाएको र आर्थिक रुपमा सबल बनाउन सहयोग पुर्याएको उदाहरण भएको, दिगो विकासका लक्ष्य, लैंगिक हिंसा विरुद्धको अभियान, महिला हिंसा चाहेर पनि पुर्ण रुपमा अन्त्य गर्न नसकिएको विषयमा विचार व्यक्त गरेका थिए ।
कार्यशालामा नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका ओम बहादुर घर्ती, नेकपाका राजेन्द्र विक, बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, तानसेन नगरपालिकाका उपमेयर प्रतिक्षा सिंजाली, तानसेन नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुनिल बस्याल, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, महिला उद्यमी उमा अर्याल लगाएत अन्य पत्रकारहरु र विभिन्न संघसंस्थाका प्रतिनिधी सहभागी थिए ।
कार्यशाला सञ्चार मञ्च पाल्पाका कृष्ण कार्कीको सञ्चालन र अध्यक्ष पदम गैरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

