तानसेन सहित सबै पालिकाको बैठक लाईभ गर्नुपर्ने जेन्जी पाल्पाको माग

पाल्पा । जेन्जी पाल्पाले तानसेन नगरपालिका सहित सबै पालिकाको बैठक लाईभ गर्नुपर्ने माग राखेको छ । तानसेनमा बसेको जेन्जी पाल्पाको विस्तारित बैठकले तानसेन नगरपालिका सहित पाल्पाका दश वटै पालिकामा बस्ने सबै बैठकको लाईभ प्रशारण गर्नुपर्ने निर्णय गरेको हो ।

बैठकले तानसेन नगरपालिका सहित सबै पालिकालाई आगामी बैठक तथा कार्यक्रमहरू प्रत्यक्ष प्रसारण गर्न आग्रह गर्ने प्रमुख निर्णय गरेको जेन्जी पाल्पाका संयोजक उमेश भण्डारीले जानकारी दिनुभयो । भण्डारीले पाल्पाको हरेक क्षेत्रको विकासमा युवा सहभागिता, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले बैठक बसेर नै निर्णय गरेको बताउनुभयो ।

भण्डारीले राजनैतिक पार्टीहरूलाई सार्वजनिक जवाफदेहिता, इमान्दारिता र नैतिकतामा आधारित गतिविधि प्रवर्धनमा उचित खबरदारी गर्ने बताउनुभयो । उहाँले सार्वजनिक संस्कृति निर्माण, सामाजिक नैतिकताको प्रवर्धन, राष्ट्रियता र भाइचारामा आधारित गतिविधिको संवर्धन तथा सदाचारमा आधारित सामाजिक र सांस्कृतिक गतिविधिको कमी हुन नदिन जेन्जी पाल्पाले सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो ।

बैठकमा सहभागी जेन्जी यूवा करन चित्रकारले देशभित्र लोकतान्त्रिक वातावरण निर्माण गरी सुशासन कायम गर्न तथा कुशासन र अपारदर्शिता अन्त्य गरी सामाजिक तथा शासकीय दुश्चरित्रलाई अन्त्य गर्न भूमिका खेल्ने बताउनुभयो । उहाँले जेन्जी पाल्पाको यस अभियानले सुशासन र समृद्धि हासिल गर्न सघाउने बताउनुभयो ।

पाल्पाको तानसेन भगवती मन्दिर परिसरमा जेन्जी पाल्पाको बैठकमा पाल्पाका विकास, समस्या र सम्भावनाबारे खुला छलफल गरिएको जेन्जी पाल्पाले जनाएको हो । बैठकले तानसेन खानेपानी उपभोक्ता समितिले सञ्चालन गरिरहेका गतिविधि तथा आगामी योजनाबारे स्पष्ट जानकारी सार्वजनिक गर्न औपचारिक अनुरोध गर्ने समेत निर्णय गरेको छ ।
बैठकमा सहभागी यूवाहरुले दैनिक बढिरहेको पलायन रोक्न युवा भरथेग र सहभागिताका योजना ल्याउन तिनै तहका सरकारले संयुक्त रुपमा पहल गर्नुपर्ने जनाएका छन् ।

बैठकमा नेपालले आफ्नो आवधिक योजनामार्फत समृद्धि र सुशासनको मार्गचित्र सफल बनाउन युवाको सहभागितामा उत्पादकत्व अभिवृद्धि गरी अर्थतन्त्र सबल बनाउन ध्यान केन्द्रित समेत गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय