रास्वपा पाल्पाको विस्तारित बैठक सम्पन्न

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाको विस्तारित बैठक सम्पन्न भएको छ । तानसेनको रेडक्रस भवनमा सम्पन्न भएको विस्तारित बैठकमा आगामी निर्वाचन र समसामयीक राजनीतिका विषयमा छलफल गरिएको रास्वपा पाल्पाले जनाएको छ ।

विस्तारित बैठकका प्रमुख अतिथि रास्वपा प्रदेश कोषाध्यक्ष दुर्गी अर्यालले पार्टीको वर्तमान अवस्था र आगामी रणनीतिबारे उपस्थित कार्यकर्ताहरुलाई जानकारी दिनुभयो । उहाँले रास्वपा जनताको मतमा विस्वास गर्दै निर्वाचनमा जाने विषय प्रष्ट पार्नुभयो । अर्यालले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारीका लागि दलहरूसहित सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । उहाँले निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भई लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ पार्न सम्पूर्ण राजनीतिक दलहरूलाई आह्वानसमेत गर्नुभएको छ ।

जिल्लाभरीका रास्वपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रममा रास्वपा पाल्पाका उपसभापति सुमन गैरेले पार्टी र देशको वर्तमान अवस्थाबारे रास्वपाको धारणा व्यक्त गर्नुभयो । गैरेले रास्वपाबारे उठेका जिज्ञासाहरुको सम्बोधन समेत गर्नुभएको थियो । गैरेले घोषित निर्वाचनको परिणाम देश र जनताको सर्वोपरि हित एवं पार्टीको पक्षमा हुने गरी जनमत निर्माणमा लाग्न पार्टीका सम्पूर्ण संरचना, सदस्य एवं शुभेच्छुकलाई आग्रह समेत गर्नुभयो । उहाँले पार्टीले अगाडि सारेका दृष्टिकोण, एजेण्डा र उम्मेदवारको पक्षमा मतमार्फत जनविश्वास व्यक्त हुने गरी प्रभावकारी योजना निर्माण एवं परिचालनमा केन्द्रित हुन पार्टी संरचना र पङ्क्तिलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा दुई दर्जन बढी व्यक्ति रास्वपामा प्रवेश गरेको रास्वपा पाल्पाका सचिव नारायण न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेले जेनजी प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले आउँदा दिनमा राज्यका निकायमा जेनजी आन्दोलनको भावना र म्यान्डेट अनुसार उनीहरूको सहभागिता सुनिश्चित गर्न समेत माग गर्नुभयो ।

कार्यक्रममा रास्वपा रामपुरका नगर सभापति अर्जुन श्रेष्ठ, पाल्पा क्षेत्र नं. २ का सदस्य गणेश बस्याल, तानसेन नगर सभापति जिवन पाण्डेयलगाएतले रास्वपामा नागरिकहरुको क्रेज बढ्दो रहेको भन्दै यो माहोल कायम राख्नुपर्ने बताएका छन् । कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुले रास्वपाको आन्तरिक लोकतन्त्रको सुदृढीकरण र समावेशितालाई थप व्यवस्थित र प्रोत्साहित गर्ने, पार्टी रूपान्तरणको पक्षमा व्यक्त भएका आवाज र प्रस्तावलाई विधि–प्रक्रियाअन्तर्गत नै सम्बोधन गर्ने तथा निर्णय प्रक्रियामा सबै तहका समिति र सदस्यहरूको सहभागिता सुनिश्चित गर्ने वातावरणलाई क्रमशः फराकिलो बनाउन अनुरोध गरेका छन् ।

रास्वपा पाल्पाका सभापति विष्णु भण्डारीले देशमा बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेकाले यसका लागि समान विचार भएका परिवर्तनकारी शक्तिहरूसँग संवाद, सहमति र सहकार्यमा जोड दिनुपर्ने बताउनुभयो । भण्डारीले देशको पछिल्लो समग्र परिस्थिति, अप्रत्याशित रूपमा विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा सदस्यको घोषित निर्वाचन, जनजीविकाका सवाल र पार्टीको आन्तरिक जीवन एवं तत्कालीन कार्यभारबारे रास्वपाको स्पष्ट धारणा भएको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय