पाल्पा । पाल्पाको सत्यवती मेलामा चिच्याएर वर माग्न पुगेका भक्तजनले चढाएको भेटी गणना गरेर सकिएको छ । तिनाउ गाउँपालिकाको सत्यवती मन्दिरमा लागेको मेलामा ३९ लाख ७७ हजार रुपैँया भेटी संकलन भएको छ ।
मेला सकिएपछि भेटी गणना गर्दा सो रकम आम्दानी भएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । संकलन भएको भेटीको सदुपयोग गर्दै गाउँपालिकाले उचित काममा प्रयोग गर्ने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । तिनाउ गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, समितिका प्रतिनिधि, सुरक्षाकर्मीको रोहबारमा यहाँ चढाएका भेटी तथा दानमा संकलित रकम गनिएको थियो । बिहीबारबाट मन्दिरमा चढाईएका भेटी गन्न सुरु गरिएको हो । चढाएको नगद चिसो रहेको र सुकाउँदै गन्नुपर्ने भएकाले दान तथा भेटी गन्न केही ढिला भएको समितिका अध्यक्ष दान बहादुर गाहाले जानकारी दिनुभयो ।
पाल्पाको सबैभन्दा धेरै जनसहभागीता हुने सत्यवती तालमा लागेको मेलामा झन्डै ३ लाख बढी श्रद्धालुले ताल र सत्यवती बज्यै मन्दिरको दर्शन गरेका थिए । गतवर्ष तालमा लागेको मेलाबाट ३२ लाख ८१ हजार ८ सय ७० रूपैयाँ दान तथा भेटी संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गाहाले बताउनुभयो ।
पाँच दिनसम्म चलेको चिच्याएर वर माग्ने मेलामा हरेक वर्ष तिहार पछिको पूर्णिमामा चिच्याएर वर माग्ने प्रचलन रहेको छ । परापूर्व कालमा सत्यवती बज्यै सत्यको खोजीमा घना जङ्गलको बिच भागमा आई तपस्या गरेर शक्ति प्राप्त गरेको जनविश्वास रहेको छ । सत्यवती बज्यैले कानले नसुन्ने भएको हुँदा मध्यरातमा चिच्याएर वर माग्ने प्रचलन रही आएको छ । भक्तजनले चिच्याएर वर मागेमा पूरा भएपछि भाकल अनुसारको बली दिने प्रचलन रहेको छ ।

