
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पाल्पाको अध्यक्षमा सन्देश ढकाल चयन हुनुभएको छ ।
अनेरास्ववियु पाल्पाको २५ औँ जिल्ला अधिवेशनबाट ढकाल अध्यक्षमा चयन हुनुभएको हो । शनिबार सम्पन्न अधिवेसनले ढकालको अध्यक्षतामा ३१ सदस्य जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा इन्दु गाहा, केशब नेपाल, सचिवमा सुशील रेग्मी, सह–सचिवमा विपिन पंगेनी, दुर्गा विक, सिर्जना बस्याल, चादनी न्यौपाने र कोषाध्यक्षमा शिर्षा पौडेल निर्वाचित हुनुभएको अनेरास्ववियु पाल्पाले जनाएको छ । अधिवेशन उद्घाटन समारोहमा नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरले पार्टी जनपक्षिय काममा जोडिदै सशक्तढंगले अघि बढेको बताउनुभयो । उहाँले जनसंगठनहरु पनि सक्रिय रुपबाट संगठन निर्माणमा जुट्नु पर्ने बताउनुभयो ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति समेत रहनु भएका नेता गैरेले नेपालमै केही गर्ने सकिन्छ भन्ने मान्यता स्थापित गराउन विद्यार्थीहरुको भूमिका अहम हुने बताउनुभयो । जसका लागि विद्यार्थी संगठनहरुले आफ्ना रचनात्मक गतिविधि विद्यार्थीमाझ लैजानुपर्नेमा जोड दिनुभयो । अधिवेसनमा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य धनेन्द्रराज घिमिरे, एमाले जिल्ला कमिटी अध्यक्ष ओमबहादुर घर्ती, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, अनेरास्ववियु लुम्बिनी प्रदेश इन्चार्ज मदन भण्डारी, प्रदेश संयोजक आर्जन रिजाल, केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज मधुसुदन आचार्य, लेखा आयोग सदस्य उत्सवी ढकाल, शहिद बहुमुखी क्याम्पस रामपुरका स्ववियु सभापति राजन गौतम, अखिल नेतृ अनुजा अर्याललगायतले पाल्पामा अखिलेको योगदानका विषयमा चर्चा गर्दै समय अनुसार आफ्ना एजेन्डा स्थापित गर्न क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।