ट्राफिक प्रहरी पाल्पाद्धारा सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकहरुलाई सचेतना

पाल्पा । ट्राफिक प्रहरी कार्यालय पाल्पाले सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकहरुलाई ट्राफिक सचेतना तालिम दिएको छ । तानसेन नगरपालिका वडा नं. ७ प्रभाषमा सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकहरुलाई सचेतना तालिम र तिनाउ गाउँपालिका वडा नं. ३ झुम्सामा सावरी चालक, सर्वसाधारण नागरिक र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु संग सार्वजनिक सुनुवाइ गरिएको हो ।

तिनाउ गाउँपालिकामा ५५ जना र तानसेन नगरपालिकामा ४० जना कार्यक्रममा सहभागि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रविण आचार्यले जानकारी दिनुभयो । आचार्यले सञ्चालक र मेकानिकहरुलाई चोरी गरिएका सवारी मर्मत नगर्न, आफ्नो व्यवसाय सम्बन्धित निकायमा दर्ता गरेर मात्र सञ्चालन गर्न, सडकसम्मै आउने गरि र सडकमा हिँडेका सवारीलाई बाधा हुने गरि मर्मत केन्द्र सञ्चालन नगर्न सचेतना तालिममा अनुरोध गरिएको बताउनुभयो ।

उहाँले ट्राफिक नियम पालना गर्न र गराउन सवारी मर्मत केन्द्र र मेकानिकहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बताउनुभयो । सवारी साधन मोडिफाई गर्दा ट्राफिक नियम उल्लंघन नहुने गरि गर्न समेत मेकानिकहरुलाई अनुरोध गरिएको प्रमुख आचार्यले बताउनुभयो । तालिममा सडक दुर्घटना भएमा ट्राफिकलाई नकुरी गाडी नम्बर टिपेर घाईतेहरुको तत्काल उद्धार गर्ने, गाडीका यात्रुले गर्ने बोमिट लगाएतका फोहर गाडीभित्रै व्यवस्थापन गर्नेलगाएतका विषयमा सहजिकरण गरिएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले दुई स्थानमा सार्वजनिक सुनुवाइ समेत गरेको थियो । सार्वजनिक सुनुवाइमा ट्राफिक प्रहरी सम्बन्धी गुनासो सुनुवाइ र त्यसको सम्बोधन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कार्यक्रममा सवारीहरुको तिब्र गति, प्रेसर हर्न, चालक तथा सहचालकहरुको मादक पदार्थ र लागुपदार्थ सेवन, आरक्षण सिट, सवारी साधनहरुमा सामान ढुवानी गर्दा यताउती खस्ने, सार्वजनिक सवारी साधनमा डस्ट बीन राख्ने, काईला तथा चुनढुङ्गा बोक्ने टिप्परहरुले बाटोमा खसाल्ने, गस्ती बढाउनुपर्नेलगाएतका विषयमा नागरिकहरुले चासो राखेका थिए ।

तिलोत्तमा माध्यमिक विद्यालयका शिक्षक शिव पाण्डेयले ट्राफिक प्रहरी कार्यालयले गर्ने यस्ता खालका सचेतना तालिम र सार्वजनिक सुनुवाइले नागरिक र प्रहरी बीचको सम्बन्ध प्रगाढ हुने भन्दै ट्राफिक नियमको पालना र दुर्घटना न्यूनिकरणमा ठुलो भूमिका खेल्ने बताउनुभयो । पाण्डेयले यस्ता खालका कार्यक्रम जिल्लाका सबै स्थानमा हुनुपर्ने बताउनुभयो ।

तिनाउ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष चित्र बहादुर थापाले स्थानीय तहको समन्वय र सहकार्यमा सबै नागरिकहरुलाई ट्राफिक सचेतना दिने कामको निरन्तरता दिईने बताउनुभयो । तानसेन नगरपालिका वडा नं. ७ का वडाध्यक्ष प्रदीप खनालले ट्राफिक कार्यालयले दुर्घटना न्यूनिकरणका लागि स्थानीय सरकार संग समन्वय गरेर सचेतना तालिम सञ्चालन गर्नु सकारात्मक विषय भएको बताउनुभयो । खनालले सार्वजनिक सुनुवाइको आयोजना गरेर नागरिकहरुले प्रहरीलाई सुझाव दिने अवसर सिर्जना गरेकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पालाई धन्यवाद व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय