
पाल्पा । तारा गाउँ विकास समिति काठमाडौँको आयोजनामा तानसेन नगरपालिका ९ डाँडाडुममा सञ्चालित होम स्टे (घरबास) पर्यटन विकास सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तारा गाउँ विकास समितिले मदनपोखरा सामुदायिक होम स्टे, डाँडाडुममा ४ दिने होम स्टे व्यवस्थापन तालिम चलाएको हो । तालिममा दुई दिन पर्यटन र होम स्टे, होम स्टेको अवधारणा, कानुनी प्रबन्ध, पर्यटकीय पूर्वाधार, अतिथि सत्कार, पर्यटकसँगको व्यवहार जस्ता विषयमा सैद्धान्तिक कक्षाहरु चलाइएको छ । पाहुनाको स्वागत र बिदाइ, घर कोठाको सजावट, खाना र खाजाका परिकार निर्माण, स्थानीय कला र संस्कृतिको प्रदर्शनलगायतका विषयमा दुई दिन प्रयोगात्मक कक्षाहरू सञ्चालन भएको मुख्य प्रशिक्षक शम्भु कार्कीले बताउनुभयो । तालिमपछि होम स्टे सञ्चालक दिदीबहिनीहरूले स्थानीय सामग्री प्रयोग गरी ३५ प्रकारका खानाका परिकारहरू बनाएर स्वादन गराउनुभयो ।
तालिम समापन कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीले घरबास पर्यटनका लागि सडकलगायतका पूर्वाधार, मनोरम दृष्य, समुदायको एकता र मौलिक संस्कृति चाहिने ती सबै कुरा डाँडाडुममा रहेकाले यहाँको होम स्टे चल्ने बताउनुभयो । उहाँले समुदायको आत्मसम्मान र आर्थिक उपार्जनका लागि घरबास पर्यटनको अवधारणा महत्वपूर्ण रहेको र यस्तो समुदायमुखी अवधारणालाई अगाडि बढाएकोमा तानसेन नगरपालिका ९ नं. वडा कार्यालयलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि तानसेन ८ का वडाअध्यक्ष सोमनाथ अर्यालले डाँडाडुमबासीको सेवासत्कार, मौलिक संस्कृति र स्थानीय अर्गानिक उत्पादनका परिकारहरूलाई घरबास कार्यक्रममार्फत् बजारीकरण गर्न सकिने बताउनुभयो ।
तानसेन ९ का वडाअध्यक्ष राजेशकुमार अर्यालले सामुदायिक घरबास कार्यक्रम सामूहिक भावना, इमान्दार अतिथिसत्कार र सुसंस्कृतिको सम्मान भएको बताउनुभयो । उहाँले घरबास कार्यक्रमले गाउँमा रोजगारी सिर्जना गर्ने, युवाहरूको पलायन घटाउने र महिलाको सक्रियता बढाउने विश्वास गर्दै डाँडाडुमको मदनपोखरा होम स्टे पूर्णरूपले चल्छ, चलाइन्छ भन्नुभयो । ‘‘होमस्टे केवल पर्यटक बस्ने ठाउँ मात्र होइन, यो त हाम्रो संस्कृति, जीवनशैली र अतिथिसत्कार देखाउने झ्याल हो भन्नुभयो ।” सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कल्पना भण्डारी, वडा सदस्य माधवप्रसाद बस्याल, कमल दर्लामी, नेकपा एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुँराश आत्रेय, नेकपा एकीकृत समाजवादीका वडा कमिटी अध्यक्ष हरिश्चन्द्र भुसाललगायतले आतिथ्य सत्कार, मौलिक परिकार र पाहुँनासँगको व्यवहार राम्रो बनाउन सके यो होम स्टे अत्यन्त सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
तालिमका प्रशिक्षक मनिसा श्रेष्ठले यहाँका समुदायको जागरुकता, जनप्रतिनिधिको सहयोग र पर्यटनमैत्री संस्कृति हेर्दा सञ्चालनको छोटो समयमै लोकप्रिय र सफल होम स्टे बन्न सक्ने बताउनुभयो । सहभागी सरिता आलेले नेपालका सफल होम स्टेको कथा सुन्दा आफ्नो गाउँलाई पनि त्यस्तै बनाउने उत्साह जागेको बताउनुभयो । नौमति बाजा समूहका अध्यक्ष ईश्वरी पृथीले आफूहरूसँग भएका सांस्कृतिक सिप र दक्षतालाई पाहुनाको स्वागत र मनोरञ्जनमा लगानी गर्ने बताउनुभयो ।
तारा गाउँ विकास समितिका प्रशिक्षकहरू शम्भु कार्की, दिनेश भण्डारी र मनिसा श्रेष्ठले तालिममा सहजीकरण गर्नुभयो । डाँडाडुमका ६६ घरधुरीमध्ये सुरुमा ११ घरमा होम स्टे सञ्चालन गर्ने लक्ष्य रहेको मदनपोखरा सामुदायिक होम स्टेका अध्यक्ष तुलबहादुर गाहाले बताउनुभयो । तालिममा ३२ जनाको सहभागिता रहेको सरस्वती पचभैयाले जानकारी दिनुभयो ।