
जनताको बहुदलीय जनवादका प्रतिपादक मदन भण्डारीको ७४ औं जन्मजयन्ती मदनभण्डारी फाउण्डेसन पाल्पाले विभिन्न कार्यक्रम गरी मनाएको छ ।
मूख्यतः कम्युनिष्ट आन्दोलनलाई शान्तिपूर्ण सङ्घर्षको बाटोमा डोर्याउँदै समाजवाद हुँदै साम्यवाद पुर्याउने मान्यताका साथ अघि सारिएको थियो, जनताको बहुदलीय जनवादको कार्यक्रम । नयाँ कार्लमास्कको उपाधी पाएका मदन भण्डारीले जनताको बहुदलीय जनवादको सिद्धान्त अगाडी सारेका थिए ।
शुक्रबार मदन भण्डारी फाउण्डेसन पाल्पाले पाल्पा अस्पतालका विरामीहरुलाई फलफुल वितरण सहित अन्तक्रिया गरेर मदन भण्डारीलाई स्मरण गरेको फाउण्डेसन पाल्पा अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो । फाउण्डेसनका सदस्यहरुले पाल्पा अस्पतालको सेवा प्रवाह र नयाँ बन्दै गरेको भवनको पनि निरिक्षण गरी सेवाप्रवाह बिरामीमैन्त्री बनाउन अस्पताल प्रशासनलाई आग्रह गरेका थिए । कार्यक्रममा नेकपा एमाले पाल्पा अध्यक्ष तथा फाउण्डेसनका पदेन संरक्षक ओमबहादुर घर्ती लगायतको उपस्थिती रहेको थियो । मदन भण्डारी फाउण्डेसन पाल्पाले आउदा दिनमा युवामैन्त्री डिजिटल कार्यक्रमहरु गर्ने कार्ययोजना रहेको र अहिले फाउण्डेसन सदस्यता विस्तारको क्रममा रहेको अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो ।
मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका एकजना प्रखर अगुवा र कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार थिए । उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनमा निकै ठूलो अर्थ राख्दछ । सामन्तवाद विरोधी आन्दोलनका अगुवा र कम्युनिष्ट आन्दोलनका एक प्रसिद्ध नेता कमरेड मदन भण्डारीले अघि सारेको विचारले तात्कालीन नेकपा (एमाले) मा वैचारिक मार्गदर्शनको काम गर्यो। पार्टीभित्र नयाँ जनवादको बहस चलिरहेका बेला भण्डारीले वैधानिक सङ्घर्ष र राजनीतिक प्रतिस्पर्धामा जोड दिए । नेकपा (एमाले) को २०४९ मा सम्पन्न पाँचौं महाधिवेशनले मदन भण्डारीको प्रस्तावलाई जनताको बहुदलीय जनवादका रुपमा अनुमोदन गरेको हो ।
पोखरामा पार्टीको कार्यक्रम सिध्याएर चितवनमा अखिल नेपाल महिला संघको जिल्ला अधिवेशन लगायत तराईको पार्टी कामको सिलसिलामा देशी बिदेशी साँठगाँठका कारण दासढुंगामा भण्डारीको सुनियोजित षडयन्त्रका साथ २०५० साल जेठ ३ गते भण्डारीको दुर्घटनामा परी मृत्यु भयो । यद्यपि, भण्डारीको अवसान आकस्मिक दुर्घटना हो वा षड्यन्त्रपूर्ण हत्या यो विषय भने आजसम्म बहसमै छ । जननेता मदन भण्डारीको जन्म पूर्व पहाडको ताप्लेजुङमा पिता देवप्रसाद भण्डारीका माइलो छोरोका रूपमा शिक्षित परिवारमा २७ जुन, १९५२ मा भएको हो। भण्डारी ताप्लेजुङमा सामान्य पढाइ सकेपछि आचार्यसम्म र एमए गर्न बनारस विश्वविद्यालय पुगे। भण्डारीले २ वटा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका थिए। उक्त विश्वविद्यालयमा कृष्णप्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ लगायतका धेरै नेपाली नेताहरुले पढेका थिए।
भोजपुरमा पाण्डे परिवारमा जन्मिएकी विद्यादेवी भण्डारी मोरङमा अध्ययनका साथै पार्टीको काम गर्थिन्। विद्या पार्टी काम, विद्यार्थी संगठन र महिला संगठनको जिम्मेवारीमा रहेर स्थानीय कमिटीमा सक्रिय थिइन्। त्यही बेला भूमिगत अवस्थामै मदन भण्डारी र विद्यादेवी पाण्डेबीच जनवादी विवाह सम्पन्न भएको थियो ।