
तानसेन, पाल्पा – महिला मैत्री सहर परियोजना अन्तर्गत तानसेन नगरपालिकामा दुईदिने सुझाव संकलन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गैरसरकारी संस्था UNOPS को प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
तानसेन नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधी, लैंगिक अल्पसंख्यक सहभागी भएको कार्यक्रममा सुझाव संकलन तथा प्रशिक्षण सञ्चालन गरिएको हो । लैङ्गिक समानता, समावेशिता र सहभागी शहरी विकास सुनिश्चित गर्न आवश्यक नीति तथा नियमावली निर्माणका लागि समुदायको अनुभव, धारणा र सुझाव संकलन गर्नु कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले लैङ्गिक उत्तरदायी योजना निर्माण तथा समावेशी सहर विकासमा यस्ता कार्यक्रमहरू महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रमुख प्रशासनिक अधिकृत पिताम्बर पाण्डेले कार्यक्रमले लैंगिक समानता कायम गर्न महत्वपुर्ण योगदान दिने बताउनुभयो ।
कार्यक्रममा नगर तथा वडास्तरीय जनप्रतिनिधि, महिला समूह, किशोरी क्लबका सदस्यहरू, अपाङ्गता भएका व्यक्तिहरू, जेष्ठ नागरिक तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता थियो । सहभागीहरूले विभिन्न participatory planning tools (सहभागितामूलक योजना निर्माणका उपकरणहरू) को अभ्यास गरी आफ्ना विचार तथा अनुभव साझा गरेका थिए ।
कार्यक्रममा प्रशिक्षकको रूपमा UNOPS की कार्यक्रम विशेषज्ञ नीलम धनुसे र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कमल अधिकारीले सहजीकरण गर्नुभएको थियो । उहाँहरूले लैङ्गिक समावेशी योजना निर्माणका सिद्धान्त, अन्तर्राष्ट्रिय अभ्यासहरू, र नेपालको सन्दर्भमा यसको आवश्यकता सम्बन्धी प्रशिक्षण दिनुभयो ।
UNOPS तर्फबाट तानसेन नगरपालिकामा कार्यरत Architect/Urban planner मञ्जु राउतका अनुसार, महिला मैत्री सहर परियोजनाले सबै समुदायका लागि सुरक्षित, समावेशी र पहुँचयुक्त सार्वजनिक स्थानहरू निर्माण गर्ने लक्ष्य राखेको छ ।
उहाँले भन्नुभयो । “सुझाव संकलन तथा प्रशिक्षण कार्यक्रमले समुदायको आवाज सिधै नीति निर्माणमा जोड्न मद्दत पुर्याएको छ। सहभागीहरूले प्रयोग गरेका सहभागितामूलक उपकरणहरूले उनीहरूलाई योजना प्रक्रियाको स्पष्ट बुझाइ दिनुका साथै आत्मविश्वासका साथ आफ्ना विचार राख्न सक्षम बनाएको देखियो ।”