
पाल्पा । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले रम्भा, पुर्वखोला र माथागढी गाउँपालिकाका जनप्रतिनिधीसंग योजनाबारे छलफल गर्नुभएको छ । मन्त्री सारुले चालु आर्थिक वर्षमा विनियोजित योजना सञ्चालनको अवस्था र आगामी आर्थिक वर्षमा छनौट र सञ्चालन गर्नुपर्ने योजनाबारे छलफल गर्नुभएको हो ।
मन्त्री सारुले निर्वाचन क्षेत्र नं. १(२) भित्र विनियोजन भएका योजना जसरी पनि सम्पन्न गर्नुपर्ने उद्देश्यका साथ जनप्रतिनिधीसंग छलफल गरिएको बताउनुभयो । मन्त्री सारुले योजना छनौट गरी बजेट विनियोजन गरेर मात्र नहुने भन्दै प्रतिफल प्राप्तिका लागि निर्माण व्यवसायी र उपभोक्ता समितिसंग नियमित फलोअप गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको संघीयता लागु भएको संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाले काम गर्नुपर्ने बताउनुभयो ।
“योजना सञ्चालनका क्रममा विभिन्न समस्याहरु आउन सक्छ, त्यसको समाधानका लागि जनप्रतिनिधीले समन्वय गर्न जरुरी हुन्छ ।” मन्त्री सारुले भन्नुभयो । रम्भा र पुर्वखोला गाउँपालिकाका जनप्रतिनिधीहरुसंग ताहुँ र माथागढी गाउँपालिकाका जनप्रतिनिधीहरुसंग झडेवामा योजनाबारे छलफल गरिएको हो ।
छलफलमा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराई, माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी, उपाध्यक्ष विष्णुमाया लुङ्चे, प्रवक्ता, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र सरोकारवालाहरुको सहभागिता थियो ।
छलफलमा लुम्बिनी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा विनियोजन भएका योजनाहरु सम्पन्न गर्न जनप्रतिनिधीहरुले निर्माण व्यवसायी, उपभोक्ता समितिलगाएतसंग समन्वय गर्ने, समस्याको पहिचान गरि समाधान गर्न लागिपर्ने निर्णय गरिएको छ । त्यस्तै छलफलमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि योजनाहरु छनौट गरि गाउँपालिका मार्फत एकद्धार प्रणालीबाट लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुसंग योजना माग गर्ने निर्णय गरिएको माथागढी गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडाध्यक्ष शंकर दर्लामीले जानकारी दिनुभयो ।