
पाल्पा । लुम्बिनी प्रदेशका तीन जिल्लामा पारिवारीक स्वास्थ्य प्रोफाईल तयार गरिने भएको छ । लुम्बिनी प्रदेशको पाल्पा, बाँके र अर्घाखाँची जिल्लामा मोबाईल मार्फत पारिवारीक स्वास्थ्य प्रोफाईल तयार गरिने भएको हो ।
पाल्पामा समुदाय स्तरका परिवार स्वास्थ्य प्रोफाईल तयारी तथा मोबाईल स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरि अभियानको सुरुवात गरिएको छ । अभियानको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै मन्त्री सारुले नेता, नेतृत्व र व्यवस्थापनका विषयमा सुक्ष्म तरिकाले लाग्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारले सुविधा सम्पन्न स्थानमा भन्दा ग्रामिण क्षेत्रमा जनशक्ति व्यवस्थापन गर्न लागिपरेको बताउनुभयो । सारुले एक्लो मानिसले मात्र केहि गर्न नसक्ने भन्दै यसमा सबै तह र क्षेत्र लाग्नुपर्ने बताउनुभयो । उहाँले गर्न सकिने संभावनाहरु जिम्मेवारीमा रहँदै गर्नुपर्ने भन्दै आवश्यक सुझावहरु सहज तरिकाले दिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले गर्भवती हुँदाको समयमा जाँच गर्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुने र सुत्केरी भईसकेपछी गर्ने जाँचको प्रतिशत ९० भन्दा बढी पुर्याउने नेपाल सरकारको लक्ष्य पुरा गर्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले पाल्पामा ११ प्रतिशत बच्चा कम तौल भएका, ४१ जना मरेको बच्चा जन्मिनु र सातै प्रदेश मध्ये लुम्बिनीमा पोषणको अवस्था कहालीलाग्दो हुनु दुखद भन्दै सरकारले विशेष योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले प्रमाणमा आधारित योजना बनाई संसाधन सही ठाउँमा पुग्ने बनाउने, प्रविधि प्रयोग गरेर मोनिटरिङ र फलो अप गर्न सकिने, स्वास्थ्य स्थितीको जानकारी मोबाईल एप मार्फत लिन सकिने विषय राम्रो भएको बताउनुभयो ।
तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले संघ र प्रदेश सरकारको योजना अनुसार स्थानीय तहले कार्यान्वयन गर्न थप लगानी गर्न तयार रहेको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रसस्त लगानी गर्न सके समाज परिवर्तन गर्न सहज हुने बताउनुभयो । उहाँले स्थानीय सरकारले शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्छ भन्ने विषय बोलीमा मात्र सीमित रहेको बताउनुभयो ।
कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले अधिकांश स्वास्थ्य समस्याहरुको समाधान गर्न, रोगको भार कम गरि उपचारात्मक सेवाको माग कम गर्न, कम लगानीमा अधिक प्रतिफल प्राप्त गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले समन्वय गरेर आधारभूत स्वास्थ्य सेवामा लगानी बढाउनुपर्ने र त्यसका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सर्वेक्षण गर्दा त्यसको विश्वसनीयता कायम राख्नुपर्ने, मोबाईलको प्रयोग गर्न नसक्ने नागरिकहरुलाई सेवा दिन अप्ठेरो हुनेलगाएतका विषयमा ख्याल गर्न अनुरोध गर्नुभयो ।
मेडिक मोबाईलका पवन वैश्यले ओपन स्लो सफ्टवेयर अन्तरगतको मोबाईल एप मार्फत पारिवारीक स्वास्थ्य प्रोफाईल तयार गरिने बताउनुभयो । उहाँले सबै स्वास्थ्य डाटा एकै ठाउँमा संकलन गर्ने र व्यवस्थापन गर्ने, जिल्ला, नगरपालिका र स्वास्थ्य संस्थाको स्वास्थ्य सम्बन्धी जानकारी एकै ठाउँमा हेर्न सकिने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले नेपालको संविधान धारा ३५ मा रहेको स्वास्थ्य सम्बन्धी हक अनुसार प्रत्येक नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवा राज्यले उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले पाल्पामा १० देखि १९ वर्ष सम्मका किशोर किशोरीहरुको संख्या ४६ हजार ३ सय ८१ जना रहेको छ । २० वर्षमुनी विवाह गर्ने गर्नेको संख्या उच्च रहेको हुँदा किशोर किशोरीलाई लक्षित गरि काम गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । पाल्पामा ९३ प्रतिशतले गर्भवती जाँच गराउने गरेका छन् ।
लुम्बिनी प्रदेशमा ४४.४ प्रतिशत रक्तअल्पता, ३४ प्रतिशत कम तौल, ६.७ प्रतिशत मोटोपना रहेको छ । पाल्पामा १ हजार जनामा २८ जना ५ वर्षमुनीको उमेरमा मृत्यू हुने तथ्यांक छ । नेपालमा सुत्केरी देखी बच्चा जन्माइसकेको अवस्थामा १ लाख जना आमाहरु मध्ये १ सय ५१ जनाको मृत्यू हुन्छ । जसमा ५७ प्रतिशत स्वास्थ्य संस्थामा, १७ प्रतिशत बाटोमा र २६ प्रतिशत घरमा मृत्यू हुने गरेको छ । नेपालको औषत आयु लुम्बिनी प्रदेशमा सबैभन्दा कम ६९.५ वर्ष र कर्णाली प्रदेशमा सबैभन्दा बढी ७५.५ वर्ष रहेको छ ।