
पाल्पा —त्रिभुवन विश्वविद्यालय स्थापना हुनुभन्दा पहिले नै स्थापना भएको पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा अनेरास्ववियु क्रान्तिकारीले जित हासिल गरेको छ ।
बुधबार सम्पन्न मतगणनामा अखिल क्रान्तिकारीका मिलन घर्तिमगर विजयी भएका हुन् । उनले कूल खसेको १२२८ मतमा ३९० प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका कृष्ण अर्यालले ३४२ मत प्राप्त गरेको निर्वचन अधिकृत जीवन बहादुर थापाले जानकारी दिए ।
त्यस्तै सचिव पदमा नेपाल विद्यार्थी संघका सुशिल बस्याल ५१७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए ।
कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकी मिस्मा रानाले ४१६ मत पाइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी गंगादेवी बाह्रघरेले ३४५ मत पाइन् । सदस्यहरुमा नेविसंघकी आशिका विश्वकर्माले ३९०, ज्योति दर्लामीले ४२६, तोरण रास्कोटीले ३८७, नविन थापा ३९८, बबिता थापाले ४०५, सुजल भटराईले ४५२ र अखिल क्रान्तिकारीकी इच्छा थापाले ३६० मत प्राप्त गरी विजयी भए ।
त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा स्ववियुका लागि भएको मतदानमा १ हजार २२८ मत खसेको थियो । कूल मतदाता विद्यार्थी १ हजार ८९४ रहेका थिए ।
रामपुर नगरपालिकास्थित सहिद बहुमुखी क्याम्पसमा भने मत गणना स्थगित भएको छ । ७१३ मतदाता रहेको क्याम्पसमा ५७१ मत खसेको थियो । जसमा ९७ मत गणना गर्न बाँकी रहदा विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो ।