
पाल्पा । त्रिभुवन बहुमुखी क्याम्पस तानसेनको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारीको तर्फबाट सचिव पदका उम्मेदवार विपिन पंगेनीले उम्मेदवारी फिर्ता लिएका छन् ।
अखिल क्रान्तिकारीको तर्फबाट सचिव पदमा उम्मेदवारी दिएका पंगेनीले अनेरास्ववियुकी अनुजा अर्याल प्यानललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । पंगेनीले सामाजिक सञ्जाल फेसबुकमा “म बिपिन पंगेनी त्रिभुवन बहुमुखी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारीबाट सचिव पदका उमेदवार दिईसकेकोमा मेरो ब्यक्तिगत कारणले स्वईच्चाले मेरो उमेदवारी फिर्ता लिई अनेरास्ववियुको अनुजा प्यानलको प्यानललाई समर्थन गर्ने निणय गरेको छु।र अनुजा अर्यालको प्यानल लाई बिजयि यराउन हार्दिक अनुरोध गर्दछु ।” लेखेका छन् ।
यसअघि नेपाल विद्यार्थी संघबाट सदस्य पदमा मनोनयन दर्ता गराएका एलन सूर्यवंशीले पनि अनेरास्ववियुलाई सघाउने निर्णयका साथ उम्मेदवारी फिर्ता लिनुभएको थियो । उहाँले स्ववियु निर्वाचनमा प्रत्यक्ष सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको थियो । पछिल्लो समय निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवारको जनमत बढ्दै गएको नेकपा एमाले तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो ।