
पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले पत्रकारहरु नदी जस्तै चलायमान हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल पाल्पाको पदस्थापन तथा प्रथम बैठकलाई सम्बोधन गर्दै मन्त्री सारुले पत्रकार र पत्रकारहरुको संस्था नदी जस्तै चलायमान र गतिशिल हुनुपर्ने बताउनुभएको हो ।
मन्त्री सारुले सत्तामा रहेका जनप्रतिनिधिहरुबाट हुन सक्ने अनियमितता र आम नागरिकको जीवनस्तर बाहिर ल्याउने काम सञ्चारमाध्यमले गर्नुपर्ने बताउनुभयो । उहाँले नीति निर्माण तहमा रहेकाहरुलाई समेत सुझाव दिने गरि सञ्चारमाध्यमहरुले लेख, रचना ल्याउनुपर्ने बताउनुभयो । शैक्षिक हिसाबले योग्य व्यक्तिहरु पाल्पाको पत्रकारितामा रहेको भन्दै मन्त्री सारुले जिल्लाका जनप्रतिनिधी, कर्मचारी, राजनैतिक दललगाएतका जिम्मेवार व्यक्तिहरुलाई मागनिर्देशित गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
उहाँले सञ्चारमाध्यमहरुले सामाजिक सञ्जालहरु समेतको प्रयोग गरि छोटो र सहज तरिकाले नागरिकलाई सुचना प्रवाह गर्नुपर्ने बताउनुभयो । मन्त्री सारुले पछिल्लो पुस्ता नेतृत्व विकासमा चुकेको भन्दै पत्रकार र नयाँ पुस्ताको क्षमता विकास गर्न प्रेस चौतारी नेपालले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले समाजमा रहेका सकारात्मक विषयलाई प्रोत्साहन गर्दै सुधार गर्नुपर्ने विषयलाई सम्बन्धित क्षेत्रलाई औंल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले पाल्पा प्रेस चौतारी ईन्चार्ज राजेश कुमार अर्याल, पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष मेघराज शर्मा, पुर्व अध्यक्षहरु गोविन्द भट्टराई, रेखीराम राना, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विक, नवनिर्वाचित अध्यक्ष कृष्ण कार्कीलगाएतले पाल्पाको स्थानीय मिडियाहरु संकटमा रहेको विषयमा जोड दिएका थिए । मुलधारको राजनीतिमा रहेका व्यक्तिहरुले पत्रकारिता नबुझेको कारणले मिडिया समस्यामा रहेको उहाँहरुको भनाई छ ।