
पाल्पा । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितिका सभापति ठाकुर गैरेले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेटेर पाल्पाको विकास निर्माणबारे ध्यानाकर्षण गराउनुभएको छ ।
समितिका सभापति गैरेले पाल्पाको तानसेनमा उपप्रधानमन्त्री सिंहलाई भेटेर पाल्पाको विविध विकास निर्माणबारे ध्यानाकर्षण गराउनुभएको हो । सभापति गैरेले उपप्रधानमन्त्री सिंहसंग पछिल्लो समसामयिक राजनीतिक परिस्थिति र पाल्पाको समग्र बिकास बारे महत्वपूर्ण छलफल भएको बताउनुभयो ।
उहाँले रानिमहलको जग संरक्षण र विकास, भगवती मन्दिर पुनःनिर्माण, रिडि क्षेत्र, तानसेन दरवार परिसर विकास र मुलढोका निर्माण, माण्डब्य सरोवर, गुफाचौर, श्रीनगरलगायतका क्षेत्रको विषयमा ध्यानाकर्षण गराएको बताउनुभयो । पाल्पाको कृषि, शिक्षा, स्वास्थ, पर्यटन, सडक, खानेपानीलगाएत समग्र किासमा गरेका पहल बारे जानकारी समेत गराएको सभापति गैरेले बताउनुभयो ।
उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री मन्त्री सिंहले पाल्पाको विकासका लागि प्राप्त सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अहिले निरासा हुनुपर्ने कुनै कारण नरहेको बताउँदै अहिले बनेको सरकारबाट जनताको चाहना अनुसार काम भइरहेको बताउनुभयो । विगतमा राजनैतिक अस्थिरताका कारण जनताले चाहेजस्तो काम हुन नसकेको बताउँदै अब भने सरकारले गरेको कामले गति लिने उल्लेख गर्नुभयो ।