
पाल्पा । माथागढी गाउँपालिका वडा नं. ५ को खल्लुकघाटमा झोलुङ्गे पुल बन्ने भएको छ । गाउँपालिकाको वडा नं. ५ हात्तिलुङ्ग झुम्सा खोला लघुजल विद्युत उत्पादन केन्द्र क्षेत्रमा झोलुङ्गे पुल बन्ने भएको हो ।
झोलुङ्गे पुल निर्माण भएपछि दमार, ढाडकुन, सेंवले र हात्तिलुङ्ग, गढवास क्षेत्रका नागरिकलाई आवत जावत गर्न सहज हुने छ । गाउँपालिका अध्यक्ष यम बहादुर चिदी र उपाध्यक्ष विष्णुमाया लुङ्चेले संयूक्त रुपमा पुलको शिलान्यास गर्नुभयो । पुलको सिलान्यास गर्दै गाउँपालिका अध्यक्ष चिदीले झुम्सा खोलाको वारी बाट पारी जानको लागि ठुलो खोला भएका कारण वर्षायाममा स्थानीयलाई खोला तर्न मुस्किल पर्ने र खोलाले नै बगाउने जोखिम रहेको बताउनुभयो । उहाँले यस क्षेत्रका हजारौँ स्थानीयलाई प्रत्यक्ष लाभ मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष लुङ्चेले वडा नं. ५ का ३ सय ६२ घरधुरीका १ हजार ८ सय बढी नागरिकलाई आवतजावतमा सहज हुने बताउनुभयो । उहाँले कामदारको सुरक्षाको लागि काम गर्ने क्रममा दुर्घटना भएमा प्रति कामदार तीन वर्षको ज्याला बराबर १० जनाको दुर्घटना बीमा गरिएको समेत बताउनुभयो । पुल बन्ने स्थानमा लघुजल विद्युत उत्पादन केन्द्र भएकाले पनि पुल निर्माणले नागरिकलाई धेरै सहज हुने स्थानीयबासीको भनाई छ ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडाध्यक्ष शंकर दर्लामीले ३१ लाख २ हजार ५ सय २८ रुपैंया १२ पैसाको लागतमा पुलको निर्माण हुने बताउनुभयो । उहाँले यही असार १२ गते सम्म निर्माणकार्य सम्पन्न हुने गरि उपभोक्ता समिति संग सम्झौता भएको बताउनुभयो । वडा नं. ५ हात्तिलुङ्गका अध्यक्ष गणेशमान गाहाले पुलको लम्बाई ४६ मिटर हुने र पुल निर्माणले स्थानीय नागरिकको जीवनशैली सहज हुने बताउनुभयो ।
पुल निर्माण गर्न गैरसरकारी संस्था SWAP ले नगद तथा जिन्सी सामग्री र प्राविधिक सहयोग ईन्द्रेणी समाज केन्द्र नेपालले गर्ने भएको छ । पुलको प्रतिमिटर लागत ६७ हजार ४ सय ४६ रुपैंया पर्ने अनुमान रहेको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख ईञ्जिनियर धर्मेन्द्र यादवले जानकारी दिनुभयो । यादवले प्राविधिक हिसाबले पनि यस क्षेत्रमा पुलको आवश्यकता रहेको र पुल निर्माणले नागरिकको जीवनशैलीमा प्रत्यक्ष सरोकार राख्ने बताउनुभयो ।
पुल निर्माण भएपछि सहजै आउजाउ गर्न सकिने हुँदा स्थानीयहरू हर्षित भएका छन् । पुल निर्माण भएपछि स्थानीय नागरिकहरुलाई कृषि तथा पशुपंक्षीजन्य उत्पादन बजार सम्म पुर्याउन र आयश्रोत वृद्धि गर्न सहयोग पुग्ने छ । स्थानीय समुदायले ६२ हजार ५० रुपैंया ५६ पैसा बराबरको लागत सहभागितामा श्रमदान गर्ने गाउँपालिकाले जनाएको छ ।