
पाल्पा । सहिद बहुमुखी क्याम्पस रामपुरमा अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी निर्वाचनको तयारी थालेको छ । अनेरास्ववियु पाल्पाले यही चैत्र ५ गते देशभर हुन लागेको स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनको तयारी थालेको हो ।
अनेरास्ववियु पाल्पाका अध्यक्ष मधुसुधन आचार्यले निरन्तर विद्यार्थीको हक र हितमा खट्ने अनेरास्ववियु आगामी निर्वाचनका लागि तयार रहेको बताउनुभयो । अध्यक्ष आचार्यले स्वस्थ प्रतिष्पर्धा मार्फत विद्यार्थी नेतृत्व छनौट गर्दै ऐजेण्डा स्थापित गर्न अनेरास्ववियु सधै लागिपरेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षा, व्यवहारिक शिक्षा र शिक्षाको वदलिकरणका लागि २०२२ जेष्ठ १ गते स्थापना भएको अनेरास्ववियु नेपालको सबैभन्दा ठुलो विद्यार्थी आन्दोलनको नेता सङ्गठन भएको बताउनुभयो ।
जिल्ला कमिटिका उपाध्यक्ष सन्देश ढकालले विद्यार्थीहरुलाई प्रगतिशिल विचारधारामा गोलबन्द गर्दै राज्यको हरेक क्षेत्रमा नेतृत्व गर्न सक्ने खुबी अनेरास्ववियुका नेता कार्यकर्तामा रहेको बताउनुभयो । उपाध्यक्ष ढकालले राजनीतिमा अनुशासन, पारदर्शिता र विश्वसनियताको खडेरी लाग्दै गरेको अवस्थामा अनेरास्ववियुले त्यसलाई चिर्नका लागि अभियान नै सञ्चालन गरेर अघि बढेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि सङ्गठनले बेलाबेलामा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको र यसले विश्व प्रतिष्पर्धी जनशक्ति उत्पादका लागि शैक्षिक क्षेत्रमा वकालत गर्दै आएको बताउनुभयो ।
अनेरास्ववियु सहिद बहुमुखी क्याम्पस कमिटिका अध्यक्ष राजन गौतमले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको अनेरास्ववियु प्रति विश्वसनियता बढ्दै गईरहेको बताउनुभयो । गौतमले क्याम्पसमा गठित ३१ सदस्यीय कमिटिले उत्साहका साथ काम विद्यार्थीको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले अनेरास्ववियु समाज परिवर्तन र विकासलाई रोक्न भूमिका निर्वाह गर्नेका बिरुद्ध वैचारिक र राजनीतिक रुपमा खडा हुन सक्ने संगठनको रुपमा अघि बढिरहेको बताउनुभयो ।