
पाल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पुर्वमन्त्री बर्षमान पुनले नेपालमा प्रचण्डलाई राजनेता मान्नुपर्ने बताउनुभएको छ । नेता पुनले गणतान्त्रिक आन्दोलनको नेतृत्व गर्नुभएका प्रचण्डलाई राजनेता मान्नुपर्ने बताउनुभएको हो ।
नेकपा माओवादी केन्द्र रिब्दीकोट गाउँ कमिटीको तेश्रो अधिवेशनमा बोल्दै नेता पुनले प्रचण्डलाई राजनेता मान्ने विषय इतिहासले स्थापित गरेको तथ्य भएको बताउनुभयो । उहाँले माओवादी प्रति जनताहरुको आकर्षण बढेको भन्दै आग्रह पुर्वाग्रहको कुरा नभई माओवादी आन्दोलन र जनयूद्धको नेतृत्व गर्ने प्रचण्ड गणतन्त्रका पिता भएको बताउनुभयो ।
अहिलेको गणतन्त्रलाई सर्भिसिङ गर्नुपर्ने भन्दै नेता पुनले लोकतन्त्र या कुनैपनि व्यवस्थालाई सर्भिसिङ गरेमात्र राज्य सहि ढंगले चल्ने बताउनुभएको छ । नेपाली समाजलाई अधिकार प्राप्त बनाएको भएपनि वर्तमान व्यवस्थाले आरजु राणाहरु जस्तो तीन पटक समानुपातिक सांसद र मन्त्री हुने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले अरु पार्टीजस्तो एकदुई दर्जन सहिदहरु खोज्नुपर्ने पार्टी नेकपा माओवादी पार्टी नभएको भन्दै हजारौं सहिदहरुको बलीदानीले आएका पार्टी माओवादी भएको बताउनुभयो ।
नेता पुनले देशभर माओवादीका नीति तथा कार्यक्रम पुर्याउने र जनतामाझ जाने अभियानको तयारीमा रहेको बताउनुभयो । सहिदहरु, वेपत्ता नागरिकहरुको परिवार र क्रान्तिकारी जनताहरुले जुनसुकै अवस्थामा गरेको सम्मान र मायालाई नेकपा माओवादीले गम्भिर रुपमा हेरेको बताउनुभयो । नेता पुनले माओवादी आन्दोलनले बोल्न नसक्नेहरुलाई बोल्न सक्ने बनाएको, पहुँचमा पुग्न नसक्नेहरुलाई पहुँचमा पुर्याएको बताउनुभयो ।
“केही व्यक्तिहरुले जनयूद्ध भन्ने शब्द सुन्नै नसक्ने र बोल्नै नचाहने अवस्था छ ।” उहाँले भन्नुभयो । “जनयूद्धका पिडित र सहिदहरुको सम्मान गर्न नसक्ने पार्टीको रुपमा माओवादीलाई आरोप लागेको छ ।” उहाँले माओवादीको एजेण्डाले नै जनताका प्रतिनिधि राष्ट्रपति र प्रधानमन्त्री बन्न सकेको बताउनुभयो । जुनसुकै क्षेत्रमा महिलाहरुको ३३ प्रतिशत सहभागिता माओवादीको एजेण्डाले स्थापित गरेको विषय भएको नेता पुनको भनाई छ ।
उहाँले पहिलेको व्यवस्थाले महिला र दलितहरुलाई स्थापित गर्न नसकेको भन्दै उहाँले लोकतान्त्रिक व्यवस्थाले त्यसलाई चिरेको बताउनुभयो । दलित भनिने समुदायलाई राज्यको पहुँचमा पुर्याउन माओवादीले ठुलो संघर्ष गरेको समेत नेता पुनले बताउनुभयो ।