
पाल्पा । आउँदो (भ्यालेन्टाइन डे) प्रणय दिवसका दिन तानसेनको मखन टोलमा खाना महोत्सव आयोजना हुने भएको छ । मखन टोल टोल विकास संस्था तानसेन ४ पाल्पाले प्रणय दिवसका दिन मखन टोलमा (तेर्सो सडक) खाना महोत्सव गर्ने भएको हो ।
मखन टोल टोल विकास संस्थाले तानसेनमा पत्रकार सम्मेलन गर्दै २०८१ फागुन २ गते प्रणय दिवसका दिन छैठौं खाना महोत्सव गर्ने जानकारी दिएको हो । संस्थाकी अध्यक्ष ज्ञानु कार्कीले स्थानीय कला, संस्कृति प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले खाना महोत्सव सञ्चालन गर्ने जानकारी दिनुभयो । अध्यक्ष कार्कीले सडकमै खाउँ, सडकमै रमाउँ भन्ने उद्देश्यले विभिन्न जातजातीद्धारा बनाइएका खानाका परिकारहरूको स्टल रहने उहाँले बताउनुभयो ।
कार्यक्रमा वडा नं. ४ का वडाध्यक्ष हेमन्त राज शाक्यले खाना महोत्सव प्रवद्र्धनका लागि वडाले २ लाख रुपैंया बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले महोत्सवमा महिलाहरुले उत्पादन गरेको कुटीर तथा घरेलु उद्योगबाट बनेका सामग्रीहरु पनि विक्रीवितरण तथा प्रदर्शनी गरिने बताउनुभयो । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्नुका साथै नगरपालिकाको पर्यटन क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल राज तिमिल्सिनाले पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको महोत्सवलाई सफल बनाउन सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले प्रचारप्रसारमा सक्दो सहयोग गर्ने बताउनुभयो ।
महोत्सवमा विभिन्न जातजातिको पहिचान झल्कने भेषभुषा, गायन र नृत्यहरू, स्थानीय लाखे नाच, स्थानीय धिमे बाजा, भजन र कला केन्द्रहरुको प्रस्तुती तथा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवमा ६० वटा स्टलहरु भाडामा उपलब्ध हुने छ । प्रति स्टल होटल तथा रेष्टुरेण्टलाई २ हजार, व्यक्तिगत तथा सामुहिक स्टललाई १ हजार ५ सय, तरकारी तथा फलफूललाई १ हजार र महिलाद्धारा उत्पादित वस्तुलाई २ सय रुपैंया लिइने आयोजकले जनाएको छ ।