
पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले दक्ष जनशक्ति नहुँदा हाम्रो देश पछी परिरहेको बताउनुभएको छ ।
यूनाईटेड मिसन अस्पताल, तानसेनको एस.वि.ए. तालिम ५९ औं ब्याच तथा एम.एल.पी. ४० औं ब्याच तालिम समापन समारोहमा बोल्दै मन्त्री सारुले नेपालमा कम मात्रामा दक्ष जनशक्ति उत्पादन हुने र देशमा बस्ने प्रवृति नहुँदा देश पछी परिरहेको बताउनुभएको हो । उहाँले सुत्केरी भएको ४८ घण्टा पछी ४६ प्रतिशत आमाहरुको मृत्यूदर रहेको भन्दै अवस्था गम्भिर रहेको बताउनुभयो ।
उहाँले अनुसन्धानले सेवा प्रवाहमा कमजोरी हुँदा ६८ प्रतिशत सेवाग्राहीहरुले छोडेर जाने बताउनुभयो । मन्त्री सारुले गुणस्तरीय सेवा प्रवाह नहुँदा सेवाग्राहीहरुले सेवा प्रदायक संस्थालाई विश्वास नगर्ने र त्यो संस्था छोडेर जाने वातावरण रहेको बताउनुभयो । मन्त्री सारुले सेवाग्राहीले सहज रुपमा देख्न सक्ने गरि सेवा र शुल्क सहितको नागरिक वडापत्र राख्न निर्देशन दिईएको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशका १४ वटै सरकारी अस्पतालहरुमा यो लागु गरिएको बताउनुभयो ।
यूनाईटेड मिसन अस्पतालका तालिम संयोजक लेस डोर्ननले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । उहाँले तालिममा सिकेका ज्ञान र अनुभवलाई आफ्नो ठाउँमा आएका बीरामीहरुमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले पाल्पाको मिसन अस्पतालमा तालिम लिन पाउनु निकै राम्रो भएको बताउनुभयो । उहाँले तालिमले पहिले दिईरहेको सेवा भन्दा थप सेवा दिन सक्ने आत्मविश्वास बढाएको बताउनुभयो । तालिम संयोजक पशुपति न्यौपानेले तालिम भन्दा पहिले २५ प्रतिशत ज्ञान रहेकोमा तालिम पछी ९७ प्रतिशत प्रगति भएको बताउनुभयो ।
स्वास्थ्य तालिम केन्द्रका भुवन कुँवरले आफ्नो कार्यक्षेत्रमा गएर कति गर्ने लगनशिलताको आधारमा नतिजा प्राप्त हुने बताउनुभयो । उहाँले तालिम केन्द्रले सञ्चालन गरेका तालिमहरुको नतिजा फलो अप गरिरहेको भन्दै नतिजा आएन भने कुनैपनि तालिमको औचित्य नहुने बताउनुभयो । उहाँले आवश्यकता भन्दा धेरै बर्थिङ सेण्टरहरु भएको भन्दै त्यसको व्यवस्थापन जरुरी रहेको बताउनुभयो ।
अस्पताल प्रशासन प्रमुख जीवन भट्टराईले विगत ७१ वर्षदेखि पाल्पामा यूनाईटेड मिसन अस्पतालले पाल्पाको स्वास्थ्य क्षेत्रमा सहज पहुँच नभएका नागरिकहरुलाई सेवा दिईरहेको बताउनुभयो । तालिमका सहभागिहरु पृथ बहादुर बानियाँ र लक्ष्मी पौडेलले आफ्नो कार्यक्षेत्रमा गएर सिकेका सीपलाई सिकाउने र सकेसम्म धेरै प्रयोग गर्ने बताउनुभयो ।
मंसिर १३ गतेदेखी ६० दिनसम्म चलेको तालिममा रोल्पा, दाङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, बर्दीया, रुकुमलगाएतका जिल्लाबाट सहभागिहरु उपस्थित थिए ।