माथागढी स्तरीय छैठौँ राष्ट्रपति रनिङ् शिल्डको उपाधी सौभाग्यलाई

पाल्पा – माथागढी गाउँपालिकास्थित सराई खेल मैदानमा सञ्चालित छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सौभाग्य मावि चिदीपानीले जितेको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ८ वटा स्वर्ण पदकसहित १९ पदक जितेर सौभाग्य माविले यस वर्षको राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा विजेता बनेको हो ।

सौभाग्य माविले ८ स्वर्ण, ६ रजत र ५ वटा कास्यपदक जितेको माथागढी गाउँपालिका शिक्षा शाखाकी प्राविधिक सहायक एलिना थपलियाले जानकारी दिनुभयो । यस्तै किसान मावि झडेवाले ७ स्वर्ण, तीन रजत र ४ कास्य पदकसहित दोस्रो बनेको हो । यस्तै ६ स्वर्ण ५ रजत र २ कास्यसहित दिव्यज्योति मावि तेस्रो बनेको खेल संयोजक प्रेमबहादुर बाह्रघरेले जानकारी दिनुभयो ।

यस्तै सातपोखरी मावि र माउण्ट भ्याली माविले १०/१० पदक जितेका छन् । यस्तै ग्रामोदय माविले ९, कर्णाधार माविले ७, रत्न मावि, हात्तीलुङ् मावि, सिद्धार्थ मावि र महेन्द्र नरेश माविले ३÷३ पदक जितेका छन् । यस्तै सनराइज पव्लिक माविले एक पदक पाएको बाह्रघरेले जानकारी दिनुभयो । प्रतियोगितामा सामुदायिक र संस्थागत गरी १४ वटा विद्यालयको सहभागिता रहेको थियो ।
रनिङ् शिल्ड प्रतियोगितामा ज्याभलिन थ्रो, रिले दौड, एकल दौड, भलिबल, हाइजम्प, लङ्ग जम्प, सटफुटलगायतका खेलमा प्रतिष्पर्धा भएको थियो । यस पटक माथागढी गाउँपालिकाले प्रतियोगिता सञ्चालन गर्न वजेटको व्यवस्था गरेको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो ।

विजेता खेलाडीलाई पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले खेलकुद प्रतियोगिताले विद्यार्थी–विद्यार्थीका बीचमा सकारात्मक प्रतिष्पर्धा गर्ने भावनाको विकास गर्न सहयोग पुग्ने बताउनुभयो । माथागढी गाउँपालिकाले वजेटको व्यवस्थापनबाट भएको प्रतियोगिताले विद्यालय र विद्यार्थीका बीचमा असल अन्तरसम्बन्ध कायम गर्न भूमिका खेलेको दावी गर्नुभयो । खेलकुदका माध्यम्बाट देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने मन्त्री सारुको भनाई छ ।

मेरो स्वास्थ्य मेरो जिम्मेवारी हो भन्ने मान्यताबाट प्रदेश सरकार अघि बढेको उल्लेख गर्नुहुँदै उहाँले खेलका माध्यम्बाट निरोगी रहन सहयोग पुगेको बताउनुभयो । मन्त्री सारुले भन्नुभयो, संसार खेलकुदकै माध्यम्बाट चिनिएको छ, हामीले पनि हाम्रो देश, समाज, परिवार र विद्यालयलाई चिनाउन सकेका छौँ । असल संस्कार, सकारात्मक सोच र असल कर्मले मात्रै सफलता हासिल गर्न सकिन्छ, उहाँले थप्नुभयो ।

कार्यक्रम माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीको अध्यक्षता, दिव्य ज्योति माविका प्रधानाध्यापक लोकेन्द्र थापाको संचालनमा सम्पन्न भएको थियो ।

खेलकुद सम्पन्न गर्न रेफ्रीको भूमिका गर्नुहुने धनपति गैरे, मोहन दर्लामी, प्रेमध्वज गाहा, नुरराज गैरे, दिनेश बस्याललाई सम्मान गरिएको थियो । यस्तै सहायक रेफ्रीको राजिव भट्टराई, प्रियाक चिदी, स्थानीय सामाजसेवी तथा समूहलगायतलाई सम्मान गरिएको गरिएको सामाजिक विकास समितिका संयोजक राजकुमार पन्थीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय