प्रधानमन्त्री ओलीबाट तिनाउको प्रशासकीय भवन उद्घाटन

पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको प्रशासकीय भवनको ‘भर्चुअल’रुपमा उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री ओली कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि उहाँको स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित भवन उद्घाटन गर्नुभएको हो । उहाँले उर्वर तथा प्राक्रितिक विविधताले भरिपुर्ण भूमि तिनाउ गाउँपालिकाको कार्यक्रमस्थल दोभानमा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्ष रुपमा उपस्थित हुन असमर्थ भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाई र नयाँ अनुभूति मिल्नेगरी काम गर्न आग्रह गर्नुभयो । उहाँले पाल्पा एक ऐतिहासिक र रमणीय जिल्ला भएकाले यस प्रकारको छविलाई यहाँका जनताले कायमै राख्ने विश्वास व्यक्त गर्दै आफूहरुले सुरु गरेका सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरुकै पालामा सम्पन्न गर्नेगरी काम भइरहेको बताउनुभयो ।
खनिज तत्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवं समग्र विकासमा यो जिल्ला थप अग्रसर हुने प्रधानमन्त्री ओलीले अपेक्षा गर्नुभयो । ‘भर्चुअल’रुपमा उद्घाटन गरिएको कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत उपस्थित हुनुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले नवनिर्मित भवनबाट तत्कालका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, प्रशासन, योजना, प्राविधिकलगायत शाखाहरूले सेवा प्रवाह गर्ने बताउनुभयो । अध्यक्ष श्रेष्ठले भवन निर्माण पालिकाको उपलब्धिमूलक कार्य भएको बताउनुभयो । साथै उहाँले नवनिर्मित प्रशासनिक ट्रस भवनबाट पालिकाले प्रवाह गर्ने सेवाहरू निरन्तर, प्रभावकारी, पारदर्शी हुने बताउनुभयो ।

त्यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले अब पालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्ने बताउनुभयो । उहाँले आफ्नो भवन अभावमा विभिन्न समस्या खेप्दैआएको पालिकाले अव सेवा प्रवाहलाई थप चुस्त तथा सहजरुपमा सञ्चालन गर्ने बताउनुभयो । बस्नेतले ट्रस भवनबाट सेवा सुरु भएसँगै सेवा प्रवाहमा थप सहजता हुनुका साथै आगामी दिनमा थप उत्कृष्ट सेवा प्रवाह हुने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय