
पाल्पा । नेकपा एमाले पुर्वखोला गाउँपालिका वडा नं. ६ हेक्लाङ्गको भेला सम्पन्न भएको छ । वडा नं. ६ हेक्लाङ्गको खुमडाँडामा पार्टी सदस्यहरुको भेला सम्पन्न भएको हो ।
भेलाका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले नेकपा एमालेले महिलालाई सधै नेतृत्व गर्ने अवसर दिएको बताउनुभयो । उहाँले नेकपा एमालेले पहिलो महिला राष्ट्रपति, पहिलो महिला मुख्यसचिव बनाएको र पहिलो महिला सभामुख बनाउन पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो । मन्त्री सारुले राज्यका हरेक निकाय र तहमा समावेशी प्रतिनिधित्व गर्ने पार्टी नेकपा एमाले भएको बताउनुभयो ।
उहाँले नेकपा एमालेसंग नै देशको आर्थिक समृद्धि गर्ने योजना समेत रहेको बताउनुभयो । उहाँले नेकपा एमाले नेतृत्वको सरकारले नागरिकको आवश्यकता र औचित्यको आधारमा बजेट विनियोजन गरेर काम गरेको बताउनुभयो । उहाँले नेकपा एमालेको सरकारले समाजवादी लक्ष्य पछ्याउँदै सोही अनुरुप जनमैत्री काम गरेको बताउनुभयो ।
सारुले लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि विद्यालयमा नर्सिङ सेवा सुरु गरेको, रोमिङ नर्सको अवधारणा सुरु गरेको, महिला स्वास्थ्य स्वयंसेविकाका लागि विशेष योजना बनाएको र किशोरीहरुको स्वास्थ्यका लागि प्राथमिकता दिएर काम गरेको बताउनुभयो ।
भेलामा पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले स्थानीय सरकारले नागरिकको मागका आधारमा योजना बनाएर कार्यान्वयन गरेको बताउनुभयो । थापाले कृषि, शिक्षा, स्वास्थ्य, पशुपालन र नागरिकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने खालका योजना तथा कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि उपाध्यक्ष विमल प्रसाद काफ्ले, पुर्वखोला गाउँपालिका उपाध्यक्ष भागीरथी भट्टराई, आदिवासी जनजाती महासंघकी केन्द्रीय सचिव हिरुसरा राना, एमाले पुर्वखोला गाउँ कमिटिका अध्यक्ष रविन्द्र पंगेनी, जीवन आचार्य, मन बहादुर सारु, धन बहादुर घर्तीलगाएतका नेताहरुले नेकपा एमालेले पुर्वखोला गाउँपालिकामा नागरिकको आयस्तर बढ्ने खालका कार्यक्रमलाई प्राथमिकता दिएर काम गरेको बताएका थिए ।
भेलाले प्रिति बाह्रघरेको अध्यक्षतामा ११ सदस्यिय अखिल नेपाल महिला संघ वडा कमिटि गठन गरेको छ । नवनिर्वाचित अध्यक्ष बाह्रघरेले नेकपा एमालेले महिलालाई सधै प्राथमिकता दिएर नेतृत्व गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।