
रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले छात्रवृत्तिमा पढ्ने सबै डाक्टरहरुलाई ग्रामिण क्षेत्रमा पठाएको बताउनुभएको छ । मन्त्री सारुले ग्रामिण क्षेत्रमा डाक्टरहरु नहुने, सहरी क्षेत्रमा चाप हुने अवस्थाको अन्त्य गर्न नेपाल सरकारको छात्रवृत्तिमा पढेर डाक्टर हुने सबैलाई ग्रामिण क्षेत्रमा सेवाका लागि पठाएको बताउनुभएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ काठमाण्डौले रुपन्देहीको बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशमा दिगो विकासको लक्ष्यहरुको समीक्षा तथा समन्वयात्मक कार्यक्रममा मन्त्री सारुले ग्रामिण क्षेत्रमा पनि डाक्टरहरुको सेवा प्रवाह विस्तार गर्न त्यसो गरिएको बताउनुभएको हो । उहाँले नागरिकको मन छुनेगरी काम गर्न नसकिरहेको बताउँदै स्वास्थ्य क्षेत्रमा रणनीतिक सक्रियता बढाउनुपर्ने बताउनुभयो ।
सञ्चार, पर्यटन, विद्युत, सडकलगाएतका क्षेत्रमा लगानी गरेर सरकारले राम्रो उपलब्धी हासिल गर्न सफल भएको भन्दै उहाँले विकास साझेदार संस्थाहरुले अली बढी काम र मेहेनत गर्नुपर्ने बताउनुभयो । दिगो विकासका लक्ष्यहरुको १० वटा सुचकहरु हासिल गरिसकेको र २१ वटा सुचकहरु हासिल गर्ने क्रममा रहनु सकारात्मक पक्ष भएको उहाँको भनाई थियो ।
प्रथम चौमासिकमा स्वास्थ्य मन्त्रालयको २७ प्रतिशत पुँजीगत खर्च भएको भन्दै सबै मन्त्रालयहरुमा प्रथम भएको मन्त्री सारुले बताउनुभयो । मन्त्रालयले रोमिङ नर्सको परिकल्पना, पोषण र मानसिक स्वास्थ्यको सुधारका लागि योजना बनाएको र आगामी आर्थिक वर्षमा आवश्यकता र औचित्यको आधारमा बजेट निर्माण गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका शाखा प्रमुख डाक्टर पुष्पराज पौडेलले मानव विकास सुचकांक मापन गर्ने तरिका, नेपालको स्वास्थ्य क्षेत्रको विगत, वर्तमान र भविश्यको अवस्था, स्वास्थ्यमा वित्तिय दायरा वृद्धि, राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिको कार्यान्वयनलगाएतका विषयमा सहजिकरण गर्नुभयो ।
पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको समयानुकुल परिमार्जन तथा प्रभावकारी कार्यान्वयन, गुणस्तरिय स्वास्थ्य सेवामा समतामुलक पहुँच अभिवृद्धि, विविध समूहमा रहेको स्वास्थ्य सम्बन्धी असमानतालाई सम्बोधनलगाएतका विषयमा समेत सहजिकरण गर्नुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका सबै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुख, हरेक जिल्लाबाट एक एक जना स्थानीय तहका प्रमुखलगाएतको सहभागिता थियो ।