पाल्पा । रम्भा गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुको क्षमता विकास प्रशिक्षण तानसेनमा सुरु भएको छ । गाउँपालिकाको सार्वजनिक सेवा प्रवाहका लागि राजश्व संकलन, सम्पत्ति कर, खर्च संरचना, योजना तर्जुमालगाएतका विषयमा प्रशिक्षण सुरु भएको हो ।
गाउँपालिकाले आयोजना गरेको तीन दिने प्रशिक्षण तानसेनको होटल पौवामा सुरु भएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत सुरज पाठकले जानकारी दिनुभयो । प्रशिक्षणमा सकारात्मक सोंच, प्रशंसनीय दृष्टिकोण तथा व्यवहार विषयमा जीवन विज्ञान संस्थाका शंकर पोखरेलले सहजीकरण गर्नुभयो ।
त्यस्तै नेतृत्व सीप विकास ः उत्प्रेरणा र मनोबल, नेतृत्वका लागि सञ्चार सीपको महत्व, स्थानीय तहको वित्तिय स्रोत र राजश्व अधिकारका क्षेत्रहरु, राजश्व सुधार कार्ययोजना, स्थानीय तहमा वित्तिय शुसासन, सम्पत्ति कर कार्यान्वयन र अभ्यास, संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध, जनप्रतिनिधी र कर्मचारी बीचको अन्तरसम्बन्ध विकास बारेमा पुर्व सहसचिव विष्णुदत्त गौतमले सहजिकरण गर्नुभयो ।
त्यस्तै स्थानीय तहको योजना तर्जुमा प्रक्रिया, योजना कार्यान्वयन, अनुगमन तथा मुल्यांकनमा जनप्रतिनिधीको भुमिका, मध्यमकालिन खर्च संरचना र यसको अन्य योजनासंगको अन्तरसम्बन्ध, बैठक माइन्यूट लेखन र निर्णय प्रक्रिया बारेमा एलडिटिएका जय कृष्ण श्रेष्ठ, स्थानीय तहमा सिफारीस प्रक्रिया बारेमा पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सहजिकरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।
प्रशिक्षणले गाउँपालिकाका कर्मचारी र स्थानीय जनप्रतिनिधीहरुलाई राजश्व संकलन गर्ने, योजना कार्यान्वयनमा सहजता आउने, स्थानीय तहमा काम गर्दा आएका समस्या समाधान हुनेजस्ता फाईदा पुग्ने गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताउनुभयो । अध्यक्ष भण्डारीले तालिममा सिकेका विषयबस्तुलाई गाउँपालिकाको विकास र कार्यसम्पादनमा प्रयोग गर्ने विश्वास लिएको बताउनुभयो ।