माथागढीका सार्वजनिक कार्यक्रममा दुनाटपरीको प्रयोग

पाल्पा । माथागढी गाउँपालिका मातहतका विभिन्न सार्वजनिक कार्यक्रममा दुनाटपरीको प्रयोग थालिएको छ । गाउँपालिका अन्तरगतका विभिन्न कार्यक्रममा स्थानीय स्तरमा उत्पादित सालको पातको दुनाटपरीको प्रयोग थालिएको हो ।

गाउँपालिकाले पालिका र वडा स्तरमा मेसिन बाट सालको पातको दुनाटपरी बनाउने तालिम दिएपछि महिलाहरु दुनाटपरी उत्पादनमा लागेका छन् । महिलाहरुले उत्पादन गरेको दुनाटपरी स्थानीय स्तरमै विक्रि हुने भएपछी महिलाहरु खुसी भएका छन् । माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले माथागढी गाउँपालिकामा प्लास्टिकका प्लेट प्रयोग गर्न निषेध गरिएको भन्दै स्थानीय उत्पादनलाई बढावा दिन पालिकाभरीका सार्वजनिक कार्यक्रममा दुनाटपरी प्रयोग गर्न निर्देशन दिईएको बताउनुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चेले पालिकाका विभिन्न कार्यक्रममा स्थानीय महिलाहरुद्धारा उत्पादित दुनाटपरीको प्रयोग गर्दा महिलाहरु उद्यमशिल हुने र आयआर्जनसंग पनि जोडिने बताउनुभयो । उहाँले महिलाहरु आत्मनिर्भर हुँदा परिवार, समाज र देशकै आर्थिक अवस्थामा सुधार आउने बताउनुभयो ।

माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले गाउँपालिकाले दिएको सीपको प्रयोग गरि महिलाहरुले आम्दानी गर्नु खुसीको कुरा भएको बताउनुभयो । घिमिरेले सिकेको सीपलाई व्यवहारमा प्रयोग गरि उत्पादन र आयआर्जनसंग जोडिनु गाउँपालिकाको योजना तथा कार्यक्रम सफल हुनु भएको बताउनुभयो ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडाध्यक्ष शंकर दर्लामीले प्लास्टिकजन्य भाँडाहरु प्रयोग गरि नष्ट गर्दा प्रकृतिलाई पनि असर गर्ने भएकाले गाउँपालिकाले स्थानीय स्तरमा पाईने सालको पातलाई प्रयोग गरि दुनाटपरी बनाउने र प्रयोग गर्ने कामलाई प्रोत्साहित गरेको बताउनुभयो ।

गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारको सहयोगमा नवप्रवर्तन कार्यक्रम अन्तरगत गाउँपालिका र विभिन्न वडाका महिला समुहहरुलाई मेसिनबाट सालको पातको दुनाटपरी बनाउने तालिम प्रदान गरेको थियो । महिलाहरुले दुनाटपरी बनाउने कामको सुरुवात भएको भन्दै थप व्यवसायीक बनाउन गाउँपालिकाले अझै नयाँ खालका कार्यक्रमहरु ल्याउने वडा नं. ३ कसेनीका वडाध्यक्ष तेज बहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

स्थानीय महिला विष्णु जिसीले गाउँपालिकाले महिलाहरुलाई लक्षित गरेर दुनाटपरी बनाउने तालिम सञ्चालन गर्दा महिलाहरुले खाली समयको सदुपयोग गर्ने र त्यसलाई आयआर्जन संग जोड्ने विषय सकारात्मक भएको बताउनुभयो । गाउँपालिकाले पालिकास्तरिय सार्वजनिक सुनुवाइ, विद्यालयका वार्षिकोत्सव, विषयगत समितिका बैठक, गोष्ठी, तालिम, अन्तरक्रियालगाएतका कार्यक्रममा स्थानीय स्तरमा उत्पादित सालको पातको टपरी प्रयोग गर्ने प्रतिवद्धता गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय