पाल्पा । नेकपा एमाले माथागढी गाउँ कमिटिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले पदभार ग्रहण गरेका छन् । माथागढी गाउँ कमिटिको भेलाले निर्वाचित गरेका पदाधिकारी र सदस्यहरुले पदभार ग्रहण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा क्षेत्रिय ईन्चार्ज सिर्जना काफ्लेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउँदै ग्रामिण क्षेत्रमा काम गर्ने पार्टी कार्यकर्ताहरुको ईमान्दारिता र लगनशिलताले गर्दा नेकपा एमाले यो स्थानमा भएको बताउनुभयो । नेता काफ्लेले माथागढी गाउँपालिकामा नेकपा एमालेले जनताको पक्षमा निकै राम्रो काम गरेको भन्दै स्थानीय तहको निर्वाचनमा एक जना पनि सदस्य नभएको अवस्था बाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित बहुमत सदस्य जित्नु सानो कुरा नभएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला कमिटि उपाध्यक्ष विमल प्रसाद काफ्लेले जनताको काममा निरन्तर खटिएका कारण जनताले पार्टीलाई विश्वास गर्ने वातावरण बनेको बताउनुभयो । काफ्लेले जनताको भावना बुझेर काम गर्न नवनिर्वाचित कमिटिलाई अनुरोध समेत गर्नुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश कमिटि सल्लाहकार बिष्णु आचार्य, जिल्ला कमिटि सदस्य तथा माथागढी गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चे, जिल्ला कमिटि सचिवालय सदस्य सन्तोष भट्टराई, निवर्तमान अध्यक्ष तेज बहादुर घर्तीमगरलगाएतले माथागढी गाउँपालिकामा पार्टीप्रति नागरिकहरुको विश्वास बढ्दै गईरहेको बताए ।
सपथ ग्रहणसंगै नवनिर्वाचित ४१ सदस्यिय माथागढी गाउँ कमिटिको पहिलो बैठक समेत बसेको कमिटिका सचिव बालकृष्ण राउतले जानकारी दिनुभयो । बैठकले सबै वडा कमिटि र टोलहरुको बैठक बस्ने, जनवर्गीय संगठनहरुको गठन तथा पुर्नगठन, लेबी उठाउने, नयाँ पार्टी सदस्यता वृद्धि गर्ने, विकास निर्माणका काममा सहजिकरण गर्ने, गलत सुचनाको भण्डाफोर गर्दै सत्य तथ्य सुचना प्रवाह गर्नेलगाएतका निर्णय गरेको गाउँ कमिटि अध्यक्ष मान बहादुर रानाले जानकारी दिनुभयो । अध्यक्ष रानाले पार्टीका सबै अग्रज नेता तथा कार्यकर्ताहरुको सुझाव र सल्लाह बमोजिम योजना बनाएर काम गर्ने बताउनुभयो ।