पाल्पा । चिच्याएर बर माग्ने सत्यवती मेलामा ३२ लाख ८१ हजार ८ सय ७० रुपैंया भेटी संकलन भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको सत्यवती मेलामा उक्त रकम संकलन भएको हो ।
नगदसंगै करिब १० लाल सुन समेत संकलन भएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले यसपाली अनुमान गरे भन्दा धेरै भक्तजनहरु आएको कारण व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो । उहाँले २ लाख भक्तजन आउँछन् भनेर अनुमान गरेकोमा ३ लाख बढी भक्तजन आएकोले ट्राफिक जाम व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो ।
बढी भिडभाडका कारण भक्तजनलाई पर्न गएको अप्ठेरोप्रति गाउँपालिका क्षमाप्रार्थी रहेको र आगामी वर्ष व्यवस्थापनमा विशेष ध्यान दिने श्रेष्ठले बताउनुभयो ।
सत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा चिच्याएर एउटा मात्र माग्नुपर्ने जनविश्वास छ । रातको समयमा मन्दिरमा पूजा सकेरताल परिक्रमा गर्दा चिच्याउँदै वर माग्ने चलन रहेको स्थानीयवासीको भनाइ छ । मन्दिरमा भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासले मानिसहरु भाकल चढाउन भारतदेखि आउने गरेका छन् ।
धार्मिक मेलामा पाल्पा, गुल्मी, रुपन्देही तथा नेपालका सीमाक्षेत्र गोरखपुर, सुनौली, विहारलगायतकास्थानबाट समेत भक्तजन आउने गर्दछन् ।