पाल्पा । माथागढी गाउँपालिकाको आयोजनामा सञ्चालन भएको योग विज्ञान शिविरले सहभागी नागरिक उत्साहित भएका छन् । गाउँपालिकाले वडा नं. ४ झडेवा र वडा नं. ३ कसेनीमा सञ्चालन गरेको योग विज्ञान शिविरमा सहभागी नागरिक उत्साहित भएका हुन् ।
गाउँपालिकाले नागरिकहरुलाई योग साधना मार्फत स्वस्थ बनाउने अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो । अध्यक्ष चिदीले धेरै औषधीले निको हुन नसकेका रोगहरु योग मार्फत निको भएको नागरिकहरुले अनुभव सुनाएको बताउनुभयो । उहाँले नागरिकहरुको ईच्छ्या, चाहना र आवश्यकताको आधारमा योग विज्ञान शिविर आयोजना गरिएको बताउनुभयो । चिदीले आगामी दिनमा अन्य स्थानमा समेत योग विज्ञान शिविर सञ्चालन गर्ने र अन्य कार्यक्रम समेत थप गर्ने बताउनुभयो ।
शिविर समापन कार्यक्रममा प्रतिनिधीसभा सदस्य नारायण प्रसाद आचार्यले योग साधनाले नागरिकहरुमा स्फुर्ती ल्याउने, तन्दुरुस्त बनाउने र सकारात्मक सोंचको विकास गर्न मद्दत पुर्याउने बताउनुभयो । आचार्यले नागरिकहरुको स्वास्थ्यको लागि स्थानीय तहले चासो राखेर योग विज्ञान शिविर सञ्चालन गर्नु प्रशंसायोग्य काम भएको बताउनुभयो ।
वडा नं. ३ का वडाध्यक्ष तेज बहादुर घर्तीमगरले नागरिकहरुलाई योग गर्ने बानीको विकासका लागि ६ दिन सम्म शिविर सञ्चालन गरिएको र सहभागी बाट सकारात्मक प्रतिक्रिया आएको बताउनुभयो । घर्तीमगरले आगामी दिनमा सबै नागरिकहरुलाई योग गर्ने वातावरण तयार गरि धेरै व्यक्तिले एकै ठाउँ योग गर्न मिल्ने भौतिक पुर्वाधार निर्माण गर्ने योजना बनाएको बताउनुभयो ।
कसेनीमा आयोजना गरिएको शिविरमा करिब २ सय बढी व्यक्तिहरु सहभागी भएको वडा नं. ३ का वडा सदस्य मान बहादुर रानाले जानकारी दिनुभयो । शिविरमा पतञ्जली सम्बद्ध विभिन्न सहजकर्ताहरुले सहजिकरण गर्नुभएको थियो ।