पाल्पा । माथागढी गाउँपालिका र पालिका भित्रका वित्तिय संंघसंस्थाहरु बिच अन्तरक्रिया सम्पन्न भएको छ । गाउँपालिका र पालिका भित्रका बैंक, लघुवित्त, सहकारी संस्थाहरु बिच आर्थिक नीति, कानुन, समस्या, समाधानका उपायहरु, ऋण लगानीलगाएतका विषयमा अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले ऋण लगानी, असुली, धितो मुल्यांकन, ऋणको उपयोगिता जस्ता विषयमा समस्या देखिएको बताउनुभयो । अध्यक्ष चिदीले गाउँपालिकाका वित्तिय संस्थाहरु पालिकामा सुचिकृत गरि विविध विषयमा समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले ऋण लगानी गर्दा लिईने ब्याज र सदस्यहरुले बचत गरेवापतको ब्याज राष्ट्र बैंकले तोकेबमोजिम लिनुपर्नेमा त्यसो नभएको गुनासो आएको बताउनुभयो । लुङ्चेले स्थानीय तह र वित्तिय संस्थाहरु मिलेर गाउँपालिकाको आर्थिक अवस्था सुधार गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा ४ नं. वडा झडेवाका वडाध्यक्ष शंकर दर्लामीले स्थानीय तहको नीति तथा कार्यक्रममा समस्या नपर्ने गरि वित्तिय संस्थाहरुले कारोबार गर्नुपर्ने बताउनुभयो । दर्लामीले वित्तिय संस्थाहरुका धेरै समस्याहरु रहेको भन्दै त्यसको समाधान गर्न स्थानीय तह संग समन्वय गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका अध्यक्ष ३ नं. वडा कसेनीका वडाध्यक्ष तेज बहादुर घर्तीमगरले वित्तिय संस्थाहरुले गाउँपालिकाका नागरिकको आर्थिक समृद्धि हुने विषयमा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले नागरिकलाई आत्मनिर्भर बनाउने, स्वरोजगार बनाउनेलगाएतका क्षेत्रलाई प्राथमिकता दिएर काम गर्न वित्तिय संस्थाका प्रमुखहरुलाई आग्रह गर्नुभयो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नित्यानन्द खनालले ऋण लगानी गरिसकेपछी त्यसको सदुपयोग भए नभएको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने बताउनुभयो । खनालले गाउँपालिकाको कार्यालयले अनुगमन कार्यमा प्रभावकारी भुमिका निर्वाह गर्ने बताउनुभयो । गाउँपालिकाका लेखा अधिकृत सन्तोष दाहालले उपभोक्ता समितिले खाता बन्द गर्दा प्रक्रिया झण्झटिलो रहेको गुनासो आएको बताउनुभयो । दाहालले सहुलियत पुर्ण कर्जा, कृषि तथा पशुपालनमा कर्जा गर्नुपर्नेमा त्यसो नभएको बताउनुभयो ।
कार्यक्रममा एनएमबी लघुवित्त, मिर्मिरे लघुवित्त, नेपाल ईन्भेष्टमेण्ट बैंक, सुर्योदय वोमी लघुवित्त, आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडलगाएतका संस्थाका प्रतिनिधिहरुले गाउँपालिकामा दर्ता नगरिएको, वडा कार्यालयमा दर्ता गरि व्यवसाय कर बुझाएको, ऋण लगानी गरि असुलीमा सामान्य समस्या रहेको, उपभोक्ता समितिले खाता खोल्दा वडा कार्यालय मार्फत समन्वय जरुरी हुने, वित्तिय साक्षरता कक्षा सञ्चालन गर्न पालिकाले सहजीकरण गर्नुपर्नेलगाएतका विषयमा आआफ्ना विचार व्यक्त गरेका थिए ।
वित्तिय संस्थाका प्रतिनिधिहरुले उपभोक्ता समितिको नाम राख्दा लामो राख्न नहुने, योजनाको नाम माईन्यूट, छाप र वडा कार्यालयको सिफारिसमा एकरुपता ल्याउनुपर्ने, उपभोक्ता समितिका पदाधिकारीको नाम नागरिकता अनुसार नै सिफारिस हुनुपर्नेलगाएतका सुझाव व्यक्त गरेका छन् ।