“सेम आन्न है बाबु । नोउ स्वर्गा बास अटछाने है बाबू । ।” पछ्यौरीले मुख ढाकेर आँशु पुछ्दै करिब ८० वर्षिय वृद्धाले सबैका प्रिय हेडसर मेहरमान थापाको पार्थिव शरिरमा फुल चढाईन् । सिंगो गाउँ, जिल्लाभरीका शैक्षिक व्यक्तित्व, जनप्रतिनिधि र विद्यार्थीले भरिएको थियो देवीनगर बजार । स्तब्ध थियो पुर्वखोला, स्तब्ध थियो सिंगो शैक्षिक जगत ।
असल मान्छे छिट्टै भगवानको प्यारो हुन्छन् भन्ने नेपाली मान्यता छ । नेपाली समाजमा आँखाको नानी बनेर बसेकाहरुलाई भगवानले छिट्टै स्वर्गको बाटोतिर डो¥याउँछन् । जसका ज्वलन्त उदाहरण बनेका छन् सबैका प्रिय हेडसर मेहरमान थापा । जसलाई समाजले आँखाको नानी बनाएर सजाउँदा सजाउँदै मृत्युवरण गरेका छन् । उनको जीवन आधा बाटोमै टुङ्गेको छ । तथापि समाजलाई उनको खाँचो थियो ।
अस्ती भर्खर असोज २७ गते जन्मदिन मनाएका मातृभूमी माध्यमिक विद्यालयका प्रधानाध्यापक सबैका प्रिय हेडसर मेहरमान थापाले २९ गते संसार छाडे । उच्च रक्तचाप र मुटुमा समस्या झेल्दै आएका थापाको असामयिक निधनले सिंगो जिल्ला शोकमा डुब्यो ।
वास्तवमा सबैका प्रिय हेडसर मेहरमानको अभिभावकत्वले धेरैले आफ्ना जीवनका थुप्रै अवसरहरुमा अगाडि बढ्ने मौका पाए । हरेक विद्यार्थीलाई आफ्नै परिवारको अभिभावकले झैं हरेक पाइलाहरुमा अगाडि बढ्न सहयोग गर्ने र बाटो देखाउने हेडसर आज कहिल्यै नफर्कने गरि यो संसारबाट विदा भए । हेडसरको शालिनता बाट समाजका धेरैले सिके, जाने र जीवनमा लागू पनि गरे । हेडसरको विद्यालय र शैक्षिक सुधारका लागि गरेको त्याग र लगनशिलता जस्ता केही अत्यन्त अनुकरणीय स्वभाव जसले सम्पूर्ण समाजलाई अगाडि बढ्न र नेतृत्व प्रदान गर्नका साथै विद्यालयलाई अगाडि बढाउन ठूलो प्रेरणा दियो ।
दैनिक थुप्रै घटनाहरु कसरी व्यवस्थापन तथा आइपर्ने समस्याहरू कसरी समाधान गर्ने भन्ने कुरा मेहरमान सरबाट सिक्नुपर्ने स्थानीय बताउँछन् । खाना खाईवरी विहानै ८ बजे विद्यालय पुग्ने मेहरमान सर राती अबेर सम्म विद्यालयको काममा व्यस्त हुन्थे । न बर्खे विदा, न हिउँदे विदा । सधै विद्यालयमा खटिने मेहरमान सरले विद्यालयको स्याहार गर्दागर्दै आफ्नो स्याहार गर्न भुले ।
हेडसरको अन्तिम श्रद्धान्जलीमा जिल्लाका दुवै क्षेत्रका प्रतिनिधिसभा सदस्यहरु ठाकुर प्रसाद गैरे, नारायण प्रसाद आचार्य, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारु, माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदी, रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारी, पुर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा, जनप्रतिनिधिहरु, समाजसेवी र विद्यार्थीले देवीनगर बजार ढाकिएको थियो ।
थापाको राम्दीमा पारिवारिक संस्कार अनुसार दाहसंस्कार गरिएको छ ।