पाल्पा । माथागढी गाउँपालिकाको कसेनी र झडेवामा प्रहरी चौकी भवन बन्ने भएको छ । वडा नं. ३ कसेनी र वडा नं. ४ झडेवामा प्रहरी चौकी भवन हुने भएको हो ।
गाउँपालिकाको कसेनीमा बढ्दो बस्ती विकास र झडेवामा गाउँपालिकाको केन्द्र भएका कारण प्रहरी चौकीको आवश्यकता रहेको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो । चिदीले प्रहरी चौकी भवन निर्माणका लागि जग्गा छनौटको काम सकेर नापजाँच भईरहेको बताउनुभयो ।
भवन निर्माणका लागि जग्गा अवलोकनका क्रममा सहभागी प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले माथागढीको कसेनीमा जनसंख्या र बसाईं बढ्दो रहेको हुँदा व्यवस्थित प्रहरी चौकीको आवश्यकता रहेको बताउनुभयो । प्रहरी कार्यालय अहिले कसेनीमा स्थानीय भुपु सैनिकहरुले निर्माण गरेको घरमा रहेको छ ।
प्रहरी चौकी निर्माणका लागि गाउँपालिका अध्यक्ष चिदी, प्रतिनिधिसभा सदस्य आचार्य, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, प्रहरी प्रमुख एसपी नरेन्द्र चन्द, एमाले नेता विमल प्रसाद काफ्ले, गाउँपालिकाका प्रवक्ता शंकर दर्लामी, वडाध्यक्षहरु तेज घर्तीमगर, बोम बहादुर ठाडा, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालगाएतको टोलीले कसेनी र झडेवाका विभिन्न स्थानमा जग्गा अवलोकन गरेका थिए ।