पाल्पा । मस्याम एकिकृत क्याम्पस तिनाउ ६ डुम्रेको १७ औं वार्षिकोत्सव सम्पन्न भएको छ । क्याम्पसको वार्षिकोत्सव समारोहका प्रमुख अतिथि संघीय संसदको संयूक्त समितिका सभापति तथा प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरेले उद्घाटन गर्नुभयो ।
उद्घाटन गर्दै सभापति गैरेले नेपालको शिक्षामा ग्रामिण क्षेत्रका क्याम्पसहरुको महत्वपुर्ण योगदान रहेको बताउनुभयो । उहाँले नेपालको शिक्षा प्रणालीमा नीतिगत सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सरकार त्यस काममा प्राथमिकता दिएर अघि बढिरहेको बताउनुभयो । गैरेले क्याम्पसका आवश्यक दरबन्दी व्यवस्थापन, भौतिक पुर्वाधार, शिक्षा नीति र कार्यान्वयनलगाएतका विषयमा आफु लागीपर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले गाउँपालिकाको एकमात्र क्याम्पस मस्याम एकिकृत क्याम्पसको सुधारका लागि विभिन्न योजना बनाएको बताउनुभयो । उहाँले क्याम्पसको भौतिक तथा शैक्षिक सुधारका लागि गाउँपालिकाले नियमित बजेट विनियोजन गरिरहेको समेत बताउनुभयो । अध्यक्ष श्रेष्ठले विद्यार्थीको शैक्षिक गुणस्तर र क्याम्पसको स्तरोन्नतीका लागि गाउँपालिकाले महत्वपुर्ण प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिका ८ नं. वडाका वडाध्यक्ष सोमनाथ अर्यालले क्याम्पस चलाउन त्यहाँका शिक्षकहरुले गरेको योगदान अमुल्य रहेको बताउनुभयो । अध्यक्ष अर्यालले ग्रामिण क्षेत्रका विद्यार्थीले गाउँमै आफ्नै घरमा बसेर गुणस्तरिय शिक्षा लिन पाउनु स्थानीय सरकारको देन रहेको बताउनुभयो । उहाँले क्याम्पसको थप गुणस्तर सुधारका लागी स्थानीय, प्रदेश र संघीय सरकारले समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
वार्षिकोत्सवका अवसरमा क्याम्पस प्रमुख, अभिभावक, स्थानीयबासी र सरोकारवालाले क्याम्पसको स्तरवृद्धिका लागी सबैले पहल गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।