पाल्पा । तिनाउ गाउँपालिकाका दुइ वटा वडा पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । गाउँपालिकाको वडा नं. १ र २ नं. वडालाई पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो ।
तिनाउको वडा नं. १ र २ मा स्वास्थ्य संस्थामा शतप्रतिशत सुत्केरी गराउन सफल बनेपछी पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो । नेपाल सरकारले तोकेको विभिन्न चरणका सूचक पूरा गरी पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । घरमै सुत्केरी हुने परम्परा हटाउने गरी स्वास्थ्य संस्थामा प्रसूति सेवाप्रति आकर्षित हुँदा मातृशिशुले ज्यान गुमाउनुपर्ने बाध्यता टरेको श्रेष्ठले बताउनुभयो ।
घोषणा कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले सुत्केरी महिलाले घरगोठमा सुत्केरी हुने परम्पराको अन्त्य गरी सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामा नै जानुपर्ने बताउनुभयो । उहाँले परम्परागतरूपमा सुत्केरी हुँदा मातृशिशुको नै खतरा हुने हुँदा स्वास्थ्य संस्थामा पुगेर प्रसूति हुनु दुवैलाई राम्रो हुने बताउनुभयो ।
वडा नं. १ र २ मा घरमा सुत्केरी हुने संख्या शून्य रहेको गाउँपालिकाले जनाएको छ । एक वर्षसम्म घरमा सुत्केरी भएको हुन नहुने, गर्भावस्थामा प्रोटोकलअनुसार चारपटक जाँच गरेको हुनुपर्ने, गर्भावस्था र सुत्केरी अवस्थामा गरी २२५ चक्की आइरन खाएको हुनुपर्नेलगायतका व्यवस्था पूरा भएपछि मात्र पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको हो ।
त्यस्तै पूर्ण संस्थागत सुत्केरी वडाका लागि गर्भावस्थामा पिएमटीसिटी सेवा लिएको हुनुपर्ने, गर्भावस्थामा टिटी खोप दुईपटक लगाएको हुनुपर्ने, सुत्केरीपश्चात प्रोटोकलअनुसार आमा र बच्चाको जाँच हुनुपर्नेलगायतका सूचक पूरा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष ओम बहादुर घर्तीमगरले पूर्ण संस्थागत सुत्केरी बनाउनका लागि गाउँपालिकाले निरन्तर वडा तहदेखि कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । पछिल्लो समयमा स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर निकै प्रभावकारी अभियान सञ्चालन गरेको घर्तीले बताउनुभयो ।
नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप पाल्पाका स्थानीय तहले वडा–वडा तहबाट घरमै सुत्केरी हुने दर घटाउन अभियानका रूपमा जोड दिएको गाउँपालिकाका प्रवक्ता यादव अर्यालले बताउनुभयो ।