तानसेन १० का उपभोक्तालाई योजना सम्झौता सम्बन्धी अभिमुखिकरण

पाल्पा । तानसेन नगरपालिकाले उपभोक्ता समितिका पदाधिकारीका लागि योजना सम्झौता सम्बन्धी अभिमुखिकरण सञ्चालन गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०८१÷८२ का योजनाका उपभोक्ता समितिलाई अभिमुखिकरण सञ्चालन गरेको हो ।

नगरपालिकाले वडा नं. ९, ८ र १० का उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखिकरण सञ्चालन गरिसकेको छ भने आगामी वडाहरुमा समेत नियमित रुपमा सञ्चालन गर्ने जनाएको छ । यसैबीच बुधबार तानसेन नगरपालिका वडा नं. १० तेल्घामा अभिमुखिकरण सञ्चालन गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै तानसेन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख प्रतिक्षा गाहा सिंजालीले वडा नं. १० भुगोलको हिसाबले सबैभन्दा ठुलो वडा भएकाले योजनाका काम पनि सञ्चालन गर्न चुनौती रहेको बताउनुभयो । सिंजालीले उपभोक्ता समितिले गरेका काम प्रभावकारी हुने गरेको समेत बताउनुभयो । सिंजालीले उपभोक्ता समितिको काम ठेक्का मार्फत गराउनु गलत भएको भन्दै त्यसमा सुधार हुनुपर्ने बतााउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका सदस्य विजय बौडेलले उपभोक्ता समिति मार्फत भएका कामको मुल्यांकन सहि ढंगले नहुँदा धेरैजसो उपभोक्ता समिति घाटामा जाने गरेको बताउनुभयो । पत्रकार बौडेलले वैज्ञानिक ढंगले जिल्ला दररेट निर्धारण नहुँदा समितिहरु मारमा परेको बताउनुभयो । बौडेलले कागजी प्रक्रिया र नीतिगत समस्याका कारण उपभोक्ताहरु मारमा पर्न नहुने बताउँदै त्यसको सहजीकरण नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीले गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको सहजीकरण गर्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा योजना शाखा प्रमुख दुर्गा बहादुर थापाले तालिममा सिकेका सीप र ज्ञानलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । थापाले योजना सञ्चालन गर्दा आईपर्ने समस्या समाधान गर्न तालिम उपयोगी हुने बताउनुभयो । थापाले यस वर्ष माईन्यूट सहितको योजना किताब तयार गरिएकाले उपभोक्ता समितिलाई सहज हुने बताउनुभयो ।

तालिममा सहजीकरण गर्दै नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख कोशलराज घिमिरेले योजना सञ्चालन गर्दा बील, भरपाईलगाएतको लेखाजोखा राखी नियमानुसार काम गर्न अनुरोध गर्नुभयो । घिमिरेले ईष्टिमेट अनुसारको काम गरी सोही अनुसारको बील, भरपाई बनाउनुपर्ने बताउनुभयो । घिमिरेले योजना सञ्चालन गर्दा वित्तिय अनुशासन कायम राख्नुपर्ने समेत बताउनुभयो ।

अभिमुखिकरणमा तानसेन नगरपालिकाका पुर्वाधार शाखा प्रमुख राम प्रसाद श्रेष्ठले उपभोक्ता समितिले आवश्यकता अनुसारको काम गर्न सोही अनुसारको ईष्टिमेट बनाउनुपर्ने र ईष्टिमेट अनुसार नै काम गर्नुपर्ने बताउनुभयो । श्रेष्ठले काम गर्दा आवश्यक सामग्रीहरु खरीद गर्दा दररेट अनुसार खरिद गर्नुपर्ने भन्दै समयमा काम गर्दा बजारको दररेट समेत सस्तो पर्न जाने बताउनुभयो ।

वडा नं. १० का वडाध्यक्ष हिमलाल पंगेनीले सबै योजनाका कामहरु माघ मसान्त भित्र सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडाध्यक्ष पंगेनीले ४१ वटा योजना मध्ये २९ वटा योजनाको उपभोक्ता समिति गठन गरिसकेको बताउनुभयो । कार्यक्रम वडा सचिव ऋषिकेश घिमिरेले सञ्चालन गर्नुभएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय