माथागढीमा विश्व आत्महत्या रोकथाम दिवस मनाइयो

आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस । माथागढी गाउँपालिका स्वास्थ्य शाखाले जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले आत्महत्यालाई जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा स्वीकार गरेर रोकथामका लागि देशव्यापी परामर्श अभियान चलाउनुपर्ने र यसलाई समेटेर नयाँ स्वास्थ्य नीति बनाउनुपर्ने खाँचो रहेको बताउनुभयो । अध्यक्ष चिदीले समाजमा आत्महत्याको घटना बढ्नुमा गरिवी, अशिक्षा र वेरोजगारी रहेको बताउनुभयो । उहाँले पारिवारिक तथा घरेलु हिंसा, आर्थिक समस्या, समाजमा व्याप्त हानिकारक प्रथा तथा सामाजिक हिंसा र दुव्र्यसनी लगायतका कारण आत्महत्याको घटना बढेर गएको भन्दै त्यसको निराकरणका लागि गाउँपालिकाले सचेतनाको कार्यक्रम नियमीत गर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले मानसिक स्वास्थ्यमा समस्या आएपछि कुनै पनि व्यक्तिले आत्महत्या प्रयास गर्ने गरेको हुँदा सबै अस्पतालहरूमा मानसिक स्वास्थ्य उपचारका लागि सम्बन्धित डाक्टरहरू तथा स्थानीय तहका स्वास्थ्य चौकीमा समेत मनोविमर्शकर्ताको व्यवस्थापन गर्नु पर्ने बताउनुभयो ।

गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले झडेवा बजारमा सचेतना कार्यक्रम गरि दिवस मनाएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले नेपालमा आर्थिक वर्ष २०८०/८१ मा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेको बताउँदै आत्महत्याकाको उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरूलाई निरन्तर निगरानीमा राख्नुपर्ने बताउनुभयो ।

विश्वभर प्रतिवर्ष ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने बताइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुन्छ । नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन् । आत्महत्या बढ्दै गएपछि संसदीय समितिको निर्देशनअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक अस्पतालमा ११६६ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय