
पाल्पा । बगनासकाली गाउँपालिकाले लोप हुन लागेको बगनासे साँचो प्रवद्र्धन गरेको छ । गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने बगनासे साँचो प्रवद्र्धन गरेको हो ।
गाउँपालिकाले स्थानीय खुम बहादुर विकले उत्पादन गरेको साँचो खरिद गरि गाउँपालिकाका विभिन्न शाखा, कार्यपालिका, पत्रकारलगाएतलाई वितरण गरि प्रवद्र्धन गर्ने प्रयास गरेको हो । गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले साँचो उत्पादनमा प्रोत्साहन, विक्रि वितरण र बजारमा सहजिकरण गर्ने विषयमा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । अध्यक्ष चिदीले पालिकाका सबै घर, कार्यालय, छिमेकी पालिका, जिल्लाका विभिन्न कार्यालयहरुमा बगनासे साँचो प्रयोग गर्ने वातावरण तयार गर्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष सरस्वती चिदीले पालिकाका सबै सरकारी कार्यालयले अनिवार्य प्रयोग गर्नुपर्ने नियम बसालिएको बताउनुभयो । चिदीका अनुसार गाउँपालिकाले उत्पादन लागत घटाउन ग्रेण्डर, वेल्डिङ मेसिन, घनलगायतका सामग्री सहयोग गरेको छ ।
साँचो उत्पादन गर्ने स्थानीय खुम बहादुर विकले पहिला सबैको घरमा बगनासे साँचो हुने गरेको भन्दै पछि सबै सामान विदेशबाट आउन थालेको र स्थानीय उत्पादित साँचो बिक्री हुन छाडेको बताउनुभयो । फलाम, पाइन, स्वाग र पित्तलको मिश्रणबाट स्थानीय औजारको प्रयोग गरी यो साँचो बनाइन्छ । स्थानीय आरनमा फलाम तताएर पिटेपछि निश्चित् आकारमा साँचो बनाइने विश्वकर्माले बताउनुभयो ।
घरको ढोका, बाकस, दराज लगायतमा लगाइने साँचो बजारमा पाइने अन्य साँचोको तुलनामा बलियो मानिन्छ । यो आधुनिकभन्दा केही ठूलो आकारको पनि हुन्छ । यस क्षेत्रमा २०१० सालबाट साँचो उत्पादन हुने गरेको इतिहास भेटिएको कार्यपालिका सदस्य तेज प्रसाद रसाईलीले बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विकले पुस्ता हस्तान्तरण एवं संरक्षणको अभावले गर्दा अहिले लोपन्मुख हुने अवस्था पुगेको बताउनुभयो । बजारमा आधुनिक साँचो आउनु अगाडि प्रचुर मात्रामा बगनासे साँचोको बिक्री वितरण हुने गरे पनि पछिल्लो समयमा अन्य देशबाट आएका आयातित साँचोले गर्दा माग घट्न गएको विकले बताउनुभयो ।
जिल्लाका बराङ्ग्दी, खानिगाउँ, चापपानी, यम्घा, दर्लमदेीख जिल्ला बाहिरसम्म साँचो निर्यात हुने स्थानीय रवीलाल विश्वकर्माको भनाइ छ । साँचोको उत्पादनमा निरन्तरताका लागि यहाँको बगनासकाली गाउँपालिकाले सामान्य पहल गरे पनि त्यो पर्याप्त नभएको उनीहरुको भनाइ छ ।
नयाँ प्रविधिको प्रयोगबाट लागत मूल्य घटाउन र बजारीकरणमा ध्यान दिन स्थानीय तहको ध्यान जान नसकेको स्थानीयवासीको भनाइ छ । पाल्पामा परम्परागत सीप र प्रविधिको प्रयोगबाट पाल्पाली करुवा, माटाका भाँडा, फलामका औजार उत्पादन हुदै आएका छन् ।