पाल्पा । रिब्दीकोट गाउँपालिकाका एक कर्मचारीले कार्यालयमै बसेर काठमाण्डौ गएको भनी भ्रमण भत्ता बुझेका छन् । रिब्दीकोट गाउँपालिकाको खस्यौली सामुदायिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डाक्टर सविन घलेले नियम विपरित भ्रमण भत्ता बुझेका हुन् ।
डाक्टर घले मिति २०७९ फागुन २७ देखि २०८० असार मसान्त सम्म स्वास्थ्य केन्द्रमा उपस्थित भएको प्रमाणित हाजिरि बाट देखिन्छ । तर यही मितिमा डाक्टर घलेले विभिन्न समयमा ६ पटक काठमाण्डौ गएको भनी ७० हजार २ सय रुपैंया भ्रमण भत्ता बुझेका छन् । घलेले यो समयमा सय प्रतिशत नाईट ड्यूटी गरि सोको समेत भत्ता बुझेका छन् । गोश्वारा भौचर नं. ५८० अनुसार उनले मिति २०८० असार १९ गते नाईट ड्यूटी भत्ता बुझेका हुन् ।
घलेले गोश्वारा भौचर नं. ६२९ अनुसार २०८० वैशाख १ देखी ७ र २१ देखी २४, जेष्ठ ५ देखी ८ र २५ देखी २८ तथा असार ८ देखी ११ र १५ देखी १८ गते सम्म सार्वजनिक सवारी प्रयोग गरि काठमाण्डौ गएको भनि दैनिक भ्रमण भत्ता बुझेका हुन् । स्वास्थ्य केन्द्रमा हाजिरि भई रातीमा समेत बिरामी चेकजाँच गरेको प्रमाण पेश गरि भत्ता बुझेका घलेले विभिन्न समयमा ६ पटक काठमाण्डौ गएको हुन नसक्ने महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरिक्षण प्रतिवेदनमा उललेख छ ।
यस विषयमा डाक्टर घलेलाई सोध्दा रकम बुझेको र थप अन्य विषय थाहा नभएको बताए । उनले यो बारेमा बुझ्न पालिकाको स्वास्थ्य शाखालाई सोध्न भने । उनलाई “तपाईं काठमाण्डौ गएको हो कि होईन ?” भन्ने प्रश्नमा उनले आफुलाई यस विषयमा थाहा नभएको बताए । आफुलाई प्रोत्साहन भत्ता दिन्छु भनी ल्याएको र प्रोत्साहन भत्ताको कागजात मिलाउन नसकी अन्य तरिकाले भुक्तानी दिएको उनको भनाई छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले दिने भनिएको रकम कागजात नमिलाईकन दिँदा दोहोरो हुन गएको बताए ।
कर्मचारीले चाहेको खण्डमा जसरी पनि भुक्तानी हुन्छ भन्ने यो घटनाले प्रमाणित गरेको छ । सामान्य नागरिकलाई दिने सेवा सुविधामा प्रक्रिया, कार्यविधि, विधान र नियम खोज्ने कर्मचारीले लोकलाज नमानीकन विना कार्यविधि भत्ता भुक्तानी गरेको हो । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले यो असुल उपर गर्नुपर्ने बेरुजु भएकाले डाक्टर घलेले अनिवार्य रुपमा रकम राज्यको खातामा जम्मा गर्नुपर्ने बताए । अर्यालले रकम जम्मा गर्न घलेलाई आफैले पत्र काटेको बताए । तर डाक्टर घलेले अहिले सम्म रकम फिर्ता गरेका छैनन् ।
गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले नागरिकहरुको सेवाका लागि एक हप्ता सम्म स्वास्थ्य केन्द्र खाली भए पछि डाक्टर ल्याएको बताए । कार्कीले डाक्टरको सेवा सुविधाका विषयमा कागजात मिलाउने काम कर्मचारी प्रशासनको भएको बताए ।
तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने तत्कालिन समयमा जनप्रतिनिधिले जसरी पनि भुक्तानी गर्नु भन्ने दवावमा भुक्तानी गरेको बताए । सामान्य नागरिकको काम गर्न कसैको दवाव र सिफारिस स्विकार नगर्ने कर्मचारीले कर्मचारीलाई भत्ता दिने विषय सहर्ष स्विकार गर्नु उसैको कमजोरी देखिन्छ । स्थानीय तहमा यो हदसम्म फैलिएको बेथिति एउटा प्रतिनिधि पात्र मात्रै हो । यस्ता हजारौं बेथिति स्थानीय तहमा मौलाएका छन् ।