रैनादेवी छहरा : मरिसकेका व्यक्तिको नाममा भत्ता वितरण

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले मृत्यू भईसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भुक्तानी गरेको छ । गाउँपालिकाले मृत्यू भईसकेका २३ जना व्यक्तिको खातामा सामाजिक सुरक्षा भत्ता भुक्तानी गरेको हो ।

गाउँपालिकाले वडा नं. १ का १ जना, वडा नं. २ का १ जना, वडा नं. ३ का ४ जना, वडा नं. ४ का ५ जना, वडा नं. ५ का ५ जना, वडा नं. ७ का ३ जना र वडा नं. ८ का ४ जनाको खातामा सामाजिक सुरक्षा भुक्तानी गरेको हो । गाउँपालिकाले २३ जना मृत्यू भईसकेका व्यक्तिको खातामा १ लाख ३९ हजार २ सय ४७ रुपैंया भुक्तानी गरेको हो ।

सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम १३ मा ऐन बमोजिम सामाजिक सुरक्षा पाईरहेका व्यक्तिको मृत्यू भएमा वा त्यस्तो व्यक्ति सामाजिक सुरक्षा भत्ता पाउन योग्य नभएमा निजको नाम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको अभिलेखबाट हटाउनु पर्ने उल्लेख छ । तर पालिकाले मृत्यू दर्ता गरिसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता रकम निजको खातामा पठाएको छ ।

पालिकाले मृत्यू भईसकेका नागरिकको खातामा पठाएको रकम असुल गर्नुपर्ने हुन्छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सेनाले आफु आईसकेपछि त्यसो नभएको बताउनुभयो । तिमिल्सेनाले त्यसो भएको भए असुल उपर भईसकेको हुनुपर्ने बताउनुभयो । असुल उपर भएनभएको र मृतकका नाममा सामाजिक सुरक्षा भत्ता भुत्तानी भएको कारण बुझ्न गाउँपालिकाका लेखा अधिकृत लिलामणी बस्याललाई पटक पटक फोन सम्पर्क गर्दा उहाँको फोन उठ्न सकेन ।

वडा नं. ४ का वडाध्यक्ष गोविन्द बहादुर रायमाझीले वडा बाट मृत्यू भएको सिफारिस बैंक र गाउँपालिकाको कार्यालयमा पठाउँदा पठाउँदै त्यसो हुनु लापरबाही भएको बताउनुभयो । उहाँले यो विषयमा थाहा नभएको र गाउँपालिकामा कुरा राख्ने बताउनुभयो ।

गाउँपालिकाका कर्मचारीले नियत पुर्वक या गल्तीले गरेको कामले असुल गर्न बाँकी भए सर्वसाधारण मृतकका परिवारले दुख पाउने भएका छन् । यो गाउँपालिकाका कर्मचारीको सरासर लापरबाही हो । जिम्मेवारीबोध नभएका कर्मचारीका कारण राज्यकोषको अनियमितता र नागरिकले दुख व्यहोर्नु सामान्य जस्तै भएको छ ।

सामाजिक सुरक्षा कार्यविधि, २०७७ अनुरुप लगत अद्यावधिक हुनुपर्ने, अनुसुची १० अनुसार बैंक संग निश्क्रिय खाताहरुको विवरण माग गरि हिसाब मिलान गर्नुपर्ने र सामाजिक सुरक्षा नियमावली २०७६ को नियम २२ अनुसार सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि अभिलेखको नियमित अनुगमन तथा निरिक्षण गर्नुपर्ने हुन्छ । त्यस्तै नियम १६ बमोजिम भएको व्यवस्थाहरुको विवरण पालिकाले त्रैमासिक तथा वार्षिक रुपमा सार्वजनिक गर्नुपर्ने भएपनि रैनादेवी छहरा गाउँपालिकाले त्यसो गर्ने गरेको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय