तानसेन । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रीमा पाल्पा निर्वाचन क्षेत्र नं. १ (२) बाट निर्वाचित हुनुभएका खेम सारुले जिम्मेवारी प्राप्त गर्नुभएको छ ।
लुम्बिनी प्रदेशको हालै बनेको नयाँ समीकरणपछिसरकारले मन्त्रालयको भागबण्डा टुंगो लगाउँदा सारुले स्वास्थ्य मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको हो ।सत्ता समीकरणका दुई ठूला दल नेकपा एमाले र नेपाली काँग्रेसबीच सहमति भएपछि विनाविभागीय मन्त्री बनेका ८ जना सांसदले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
मुख्यमन्त्रीसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले साउन ९ गते शपथ लिएका थिए । मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार नै कार्यविभाजनसँगै सरकारलाई पूर्णता दिनका लागि विनाविभागीय मन्त्रीहरुलाई मन्त्रालयको जिम्मा लगाएका छन् । सहमतिअनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा प्यूठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मी, उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपानेले जिम्मेवारी पाएका छन् ।
सारु पाल्पा जिल्ला बाट नेकपा एमाले तर्फबाट पहिलो पटक प्रदेश सरकारको मन्त्री बन्नुभएको हो ।