
पाल्पा । माथागढी गाउँपालिकामा पाँच वर्षे रोजगार रणनीतिक योजना सम्बन्धि अभिमूखिकरण सम्पन्न भएको छ । गाउँपालिकाले पाँच वर्ष भित्र श्रम तथा रोजगारका क्षेत्रमा काम गर्ने विषयमा अधिमूखिकरण सम्पन्न भएको हो ।
मर्यादित श्रम सहितको समृद्ध माथागढी बनाउने लक्ष्यले आन्तरिक रोजगारीको सिर्जना र श्रमिकलाई सम्मान गर्ने संस्कृतिको विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । अभिमूखिकरणको सहजिकरण गर्दै सहजकर्ता बगनासकाली गाउँपालिकाका लेखा अधिकृत कोशल पौडेलले रोजगारीका अवसरहरुको पहिचान गर्ने, संघ र प्रदेशसंग समन्वय गर्ने, आन्तरिक रोजगारी प्रवद्र्धन, बहुसीपयूक्त जनशक्ति विकास तथा परिचालन, विभेदरहित श्रम सम्बन्ध र सामाजिक सुरक्षाका विषयमा सहजिकरण गर्नुभयो ।
सहजकर्ता पौडेलले गाउँपालिकाबाट हुने सार्वजनिक निर्माणमा श्रममूलक प्रविधिको अबलम्बन गरिनुपर्ने, अनौपचारिक क्षेत्रमा संलग्न श्रमिकलाई औपचारिक क्षेत्रमा आवद्ध गरिनुपर्ने, श्रम तथा रोजगारी सम्बन्धि तथ्यांक संकलन गर्नुपर्ने बताउनुभयो । पौडेलले रोजगार प्रोफाईल तयार गर्ने, स्थानीय श्रम बजारमा माग र आपुर्ती बीचको अन्तर पहिचान गर्ने, श्रम सुचना प्रणालीको अन्य क्षेत्रसंग समन्वय गर्ने, स्थानीय अर्थतन्त्रलाई गतिशिल बनाउनेलगाएतका विषयमा सहजिकरण गर्नुभयो ।
पौडेलले न्यूनतम रोजगारीका क्रियाकलापहरुलाई उत्पादनशिल रोजगारीमा आवद्ध गर्ने, श्रमको सम्मान राष्ट्रको अभियान सञ्चालन गरिने, सार्वजनिक खर्चलाई रोजगारी संग आवद्ध गरिने, रोजगारीका संभावित क्षेत्रहरुको उपयोग हुने गरि योजना तथा कार्यक्रम बनाउने विषयमा सहजिकरण गर्नुभयो । नयाँ उद्यमहरुको पहिचान र विकास गर्ने, यूवा स्वरोजगार कोषको स्थापना र सञ्चालन गर्ने, वालश्रमको निषेध, श्रम तथा रोजगारको प्रोफाईल तयार गर्नेलगाएतका काम गर्नुपर्ने पौडेलले बताउनुभयो ।
अभिमूखिकरणमा गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले उत्पादनमा आधारित प्रोत्साहन अनुदान वितरण गरिने, प्रधानमन्त्री रोजगार कार्यक्रम लागत सहभागितामा सञ्चालन गरिने, रणनीतिक योजनाको निर्देशक समिति र कार्यान्वयन समिति निर्माण गरिने बताउनुभयो । अध्यक्ष चिदीले स्रोत साधनको प्रवन्ध तथा व्यवस्थापन, क्षेत्रगत समन्वय, तहगत सरकारका बीचमा समन्वय र सहकार्य गरेर गाउँपालिकाको पाँच वर्षे रोजगार रणनीति निर्माण गरिने बताउनुभयो । अध्यक्ष चिदीले माथागढीमा चार सय बढी श्रमिकको दुर्घटना बीमा गरिएको भन्दै श्रमिकको आर्थिक समृद्धिका लागि गाउँपालिकाले रणनीति बनाएर अघि बढ्ने बताउनुभयो ।