पाल्पा, १६ असार । रम्भा गाउँपालिकाका यूवाहरुले पत्रकारिता सिक्न चासो दिएका छन् । यूवाहरुको मागको आधारमा रम्भा गाउँपालिकामा पत्रकारिता तालिम सुरु भएको हो ।
पछिल्लो समय यूवाहरु पत्रकारितामा आउन नसकेको अवस्थामा रम्भा गाउँपालिकाले स्थानीय पत्रकार उत्पादन गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयो । अध्यक्ष भण्डारीले पत्रकारिताले समाजका विभिन्न सकारात्मक तथा सुधार गर्नुपर्ने विषय उठान गर्ने हुँदा यूवाहरुलाई पत्रकारितामा ल्याउनु गाउँपालिकाको जिम्मेवारी भएको बताउनुभयो ।
गाउँपालिकामा सञ्चालित तालिमको उद्घाटन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुर अर्यालले समाजमा लुकेर रहेका घटना उजागर गर्न पत्रकारले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । अर्यालले यूवाहरुलाई पत्रकारिता पेशामा ल्याउन र टिकाउन गाउँपालिकाले आगामी दिनमा समेत योजना तथा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
प्रेस चौतारी नेपाल पाल्पाको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । तालिममा करिब ३० जनाको सहभागिता रहेको छ । तालिमको पहिलो दिन प्रमुख प्रशिक्षक पत्रकार मिलन विश्वकर्मा, पत्रकार विजय वौडेल र दयाराज न्यौपानेले पत्रकारिताको अर्थ, समाचार लेखन, फिचर लेखन, समाचारको प्रभाव, स्थानीय तहसंगको समन्वयलगाएतका विषयमा सहजिकरण गर्नुभयो ।