
पाल्पा । माथागगढी गाउँपालिकाले स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणको मस्यौदा सम्बन्धि गोष्ठी झडेवामा सम्पन्न गरेको । माथागढी गाउँपालिकाको आयोजना र मगर आदिवासी प्राज्ञिक प्रतिष्ठान काठमाण्डौको प्राविधिक परामर्श सहयोगमा गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंक खनालले स्थानीय पाठ्यक्रममा स्थानीय कला, संस्कृति, रितिरिवाजको झल्को आउनुपर्ने बताउनुभयो । उहाँले बालबालिकाले देश र विश्वसंगै स्थानीय स्तरको बारेमा जान्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि डा. नरमाया थापा मगरले स्थानीय पाठ्यक्रम बहुभाषिक हुनुपर्ने बताउनु भयो । थापाले मातृभाषा र पढाईने भाषा फरक हुँदा विद्यार्थीलाई बुझ्न अप्ठेरो हुने भएकाले स्थानीय पाठ्यक्रम बहुभाषिक हुनुपर्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले हरेक स्थानीय तहको आ–आफ्नै छुट्टै पहिचान हुने भएकाले त्यसको ज्ञान दिन र समय अनुसार गतिशिल बनाउन स्थानीय तहमा स्थानीय पाठ्यक्रम पढाई हुनुपर्ने र बेलाबेलामा परिमार्जन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानका महासचिव डा.विष्णु कुमार सिंजाली मगरले प्राविधिक परामर्श तथा मस्यौदाका लागि सुझाव संकलनमा सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रम गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङ्चेको स्वागत र शिक्षा शाखा प्रमुख प्रेम बाह्रघरेको सञ्चालनमा सम्पन्न भएको हो ।